नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै
वि.सं.२०८३ मंसिर ७ सोमवार १३:४२
shares

काठमाडौं, ७ मंसिर ।नेपाल र भारतबीचको रक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण आयोजना हुने भएको छ । भारतीय सेनाले सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यासको २०औँ संस्करण हुन लागेको जानकारी दिएको हो ।
भारतीय सेनाले यस अभ्यासलाई दुई छिमेकी मुलुकबीचको दीर्घकालीन सैन्य साझेदारी र सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेको छ । यसअघि संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १९औँ संस्करण सन् २०२५ डिसेम्बरमा भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न भएको थियो । उक्त अभ्यासमा दुवै देशका सेनाले पहाडी क्षेत्रमा जंगल युद्ध र आतंकवादविरोधी कारबाहीसम्बन्धी तालिम गरेका थिए ।
भारतीय रक्षा मन्त्रालयका अनुसार १९औँ संस्करणको समापनका क्रममा दुवै देशका सैनिक सञ्चालन महानिर्देशक (डीजीएमओ) ले दुईदिने बटालियनस्तरीय सैन्य अभ्यासको अवलोकन गरेका थिए । संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ अन्तर्गत आतंकवादविरोधी कारबाही सञ्चालन गर्ने प्रक्रियामा केन्द्रित रहेर अभ्यास गरिएको थियो ।
अभ्यासका क्रममा निगरानी तथा गुप्तचरी प्रणाली (आईएसआर), लक्ष्य पहिचान तथा प्रहार गर्ने ड्रोन, दिन तथा रातमा प्रयोग गर्न सकिने अत्याधुनिक हतियारका उपकरण, कृत्रिम बौद्धिकतामा आधारित निगरानी प्रणाली र सुरक्षित सञ्चार प्रविधिको प्रयोग गरिएको थियो ।
त्यसैगरी दुवै देशका सैनिकले जटिल भौगोलिक क्षेत्रमा सूचनाका आधारमा विशेष सैन्य कारबाही, हवाई माध्यमबाट सैनिक परिचालन तथा संयुक्त रणनीतिक अभियानको अभ्यास गरेका थिए ।
१९औँ संस्करणमा भारतीय सेनाका ३३४ र नेपाली सेनाका ३३४ गरी कुल ६६८ सैनिक सहभागी थिए । भारतीय टोलीको प्रतिनिधित्व मुख्यतः आसाम रेजिमेन्ट तथा नेपाली टोलीको प्रतिनिधित्व देवीदत्त रेजिमेन्टका सैनिकले गरेका थिए ।
‘सूर्यकिरण’ नेपाल र भारतबीच नियमित रूपमा आयोजना हुँदै आएको संयुक्त सैन्य अभ्यास हो । यसले दुई देशका सेनाबीच सैन्य क्षमता अभिवृद्धि, संयुक्त रूपमा काम गर्ने दक्षता, अनुभव आदानप्रदान र आपसी विश्वास विस्तारमा सहयोग पुर्याउँदै आएको छ । आगामी २०औँ संस्करणले पनि दुई देशबीचको रक्षा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

















