Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव रोड रेस सफलतापूर्वक सम्पन्न

221
shares

काठमाडौं, ८ मंसिर । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावकले उत्साहजनक सहभागिता जनाएका छन् ।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ बैंकले आफ्नो १८औँ वार्षिकोत्सवदेखि सुरु गरेको यो प्रतियोगिता तेस्रो संस्करण हो ।

बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा सोमबार, मंसिर ७ गते देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम आयोजना गरिरहेको जनाएको छ ।

१० किलोमिटर खुला दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालयअगाडि पुगेर सोही मार्ग हुँदै फर्किएर बालुवाटारमै समाप्त भएको थियो ।

त्यसैगरी, ५ किलोमिटर कर्पोरेट दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक हुँदै बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर पुनः बालुवाटारमै आएर सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष दिलीप प्रताप खाँड, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालकहरू, सेयरधनी, विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तित्व, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।