Dhulikhel Eco Banner new

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड बजेट माग

286
shares

काठमाडौं, ८ मंसिर । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग गरिएको छ । गत सेप्टेम्बर ३० मा आएको बाढीका कारण पुलको एउटा पिल्लरमा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनीलाई जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरिएको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख शंकर बुढाथोकीले जानकारी दिए ।

पुनर्निर्माणको लागत यकिन गर्न विस्तृत प्रतिवेदन तयार गर्नुपर्ने र त्यसका लागि माटो परीक्षण आवश्यक रहेको उनले बताए । तर, क्षतिग्रस्त क्षेत्रमा अझै पानीको बहाव रहेकाले प्राविधिक टोलीलाई माटो परीक्षणका लागि परिचालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

नदीमा पानीको बहाव घटेपछि अन्य प्राविधिक काम अघि बढाउने र ठेक्का प्रक्रियासमेत अगाडि बढाइने योजना प्रमुख बुढाथोकीले बताए ।

झोलुङ्गे पुल डिभिजनका उपमहानिर्देशक कमल कुमार अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्राविधिक टोली क्षतिको अध्ययन गर्न कञ्चनपुर पुगेको थियो । टोलीले पुलमा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको र सेवा पुनः सञ्चालन गर्न पुल पुनर्निर्माणका लागि २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

निरीक्षण टोलीका अनुसार पुलको एउटा पिल्लर भत्किएको छ भने अन्य दुईवटा पिल्लरसमेत कमजोर अवस्थामा रहेकाले मर्मत गर्नुपर्ने देखिएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त पुल देशकै चर्चित पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।