Dhulikhel Eco Banner new

एलपी ग्यासको आपूर्ति नियमित गर्न उद्योगहरूलाई निगमको निर्देशन

819
shares

काठमाडौं, ९ मंसिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित र सहज बनाउन ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन उद्योगहरूलाई यस्तो निर्देशन दिएको हो।

परिपत्रअनुसार निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न भनेको छ।

त्यसैगरी, ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ।

निगमले ग्यास आपूर्ति व्यवस्थापनका लागि आयात, भण्डारण र बजार वितरणलाई समन्वयात्मक रूपमा सञ्चालन गर्नुपर्ने जनाएको छ। आपूर्ति शृङ्खलामा अवरोध हुन नदिन यी तीनवटै पक्षको व्यवस्थापनमा ध्यान दिनुपर्ने परिपत्रमा उल्लेख छ।

यसैबीच, निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन पनि उपभोक्तालाई अनुरोध गरेको छ।