Dhulikhel Eco Banner new

त्रिवि पत्रकारिता विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा स्नातकोत्तर डिप्लोमा सञ्चालन गर्ने

273
shares

काठमाडौं, ११ मंसिर ।  त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले डिजिटल कन्टेन्ट क्रिएसन (डिजिटल सामग्री सिर्जना) विषयमा एकवर्षे स्नातकोत्तर डिप्लोमा कार्यक्रम सुरु गरेको छ । डिजिटल सामग्री सिर्जनामा रुचि राख्ने व्यक्तिलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रममा जुनसुकै शैक्षिक संकायबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । तर, स्नातक तहको अध्ययन अवधिमा कम्तीमा एउटा अंग्रेजी विषयको पाठ्यक्रम अध्ययन गरेको हुनुपर्नेछ ।

कार्यक्रमको कुल शिक्षण शुल्क ८५ हजार रुपैयाँ तोकिएको छ । प्रवेश परीक्षाका लागि थप २ हजार ५०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

कामकाजी पेसाकर्मीलाई समेत सहज हुने गरी कक्षा सञ्चालनको व्यवस्था मिलाइने विभागले जनाएको छ । त्यसका लागि बिहान वा साँझको लचिलो समयतालिकामा कक्षा सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।