Dhulikhel Eco Banner new

नेप्सेको नयाँ नेतृत्वसँग लगानीकर्ता संघको छलफल, बजार सुधारका लागि अघि सारे सुझाव

1K
shares

काठमाडौं, ११ मंसिर । नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीसँग भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटका क्रममा संघका प्रतिनिधिहरूले नेपालको पूँजीबजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले बजारको विश्वसनीयता बढाउने, तरलता विस्तार गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

संघले नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी सुधार गर्न सुझाव दिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित कारोबार प्रणाली विकास गर्न र दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

बजारमा आधुनिक वित्तीय उपकरण भित्र्याउने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तथा शेयर राफसाफ र भुक्तानी प्रणालीलाई छिटो र प्रभावकारी बनाउने विषयलाई संघले प्राथमिकताका साथ उठाएको छ । साथै, बजारमा पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

नेप्सेको नयाँ नेतृत्वले प्रविधिगत आधुनिकीकरण, संस्थागत सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिमा काम गर्ने अपेक्षा गर्दै संघले बजार विकासका लागि नेप्से तथा नियामक निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।