Dhulikhel Eco Banner new

लाभांशमा सिद्धार्थ बैंक अगाडि, २० प्रतिशत दिने प्रस्ताव; सात बैंक अझै मौन

1.05K
shares

काठमाडौं, ११ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म १२ वटाले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । नेपालमा कुल २० वटा वाणिज्य बैंक रहेकामा १९ वटा बैंक नेप्सेमा सूचीकृत छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये सिद्धार्थ बैंक लिमिटेड (एसबीएल) सबैभन्दा अगाडि देखिएको छ । बैंकले कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नबिल बैंक लिमिटेडले कुल १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र १०.८ प्रतिशत नगद लाभांश रहेको छ ।

एभरेष्ट बैंक लिमिटेडले पनि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, सानिमा बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडले समान १० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । सानिमा बैंकले शतप्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आईएमई बैंकले ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल एसबीआई बैंक लिमिटेडले ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ३.४ प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांशका लागि बैंकले २०२६ डिसेम्बर ३ मा बुक क्लोज गर्ने भएको छ । लाभांश प्राप्त गर्न योग्य हुन लगानीकर्ताले डिसेम्बर २ सम्म शेयर खरिद गरिसक्नुपर्नेछ ।

एनएमबी बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांशका लागि बैंकले नोभेम्बर ३०, २०२६ मा बुक क्लोज गर्ने भएको छ । लाभांश सुरक्षित गर्न आज (नोभेम्बर २७) सम्म शेयर खरिद गर्नुपर्नेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ३.८ प्रतिशत बोनस शेयर र ०.२ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, कुमारी बैंक लिमिटेडले सबैभन्दा कम २.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लाभांश घोषणा नगर्ने सात बैंक

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सात वटा बैंकले भने आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म लाभांश प्रस्ताव गरेका छैनन् ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा कृषि विकास बैंक (एडीबीएल), नेपाल बैंक (एनबीएल), प्रभु बैंक (पीआरभीयू), प्राइम कमर्सियल बैंक (पीसीबीएल), एनआईसी एसिया बैंक (एनआईसीए), हिमालयन बैंक (एचबीएल) र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेका छन् ।

हालसम्मको विवरणअनुसार लाभांश प्रस्तावमा सिद्धार्थ बैंक २० प्रतिशतसहित पहिलो स्थानमा रहेको छ भने कुमारी बैंक २.१०५३ प्रतिशतसहित सबैभन्दा कम लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

लाभांश प्रस्ताव गरेका अधिकांश बैंकले बोनस शेयर र नगद लाभांशको मिश्रणमा वितरण गर्ने योजना बनाएका छन् भने केही बैंकले शतप्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।