Dhulikhel Eco Banner new

नबिल एसएसईको पाँच वर्ष : ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारी तथा जीविकोपार्जनको अवसर

650
shares

काठमाडौं, ११ मंसिर । नबिल बैंकको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) ले पाँच वर्ष पूरा गरेको छ । यस अवधिमा कार्यक्रमको सहयोगमा ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएका छन् ।

सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको यस कार्यक्रमले फेलोसिप कार्यक्रम तथा प्रमाणपत्र पाठ्यक्रममार्फत १ हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान र सीप प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार हालसम्म फेलोसिपका ६ वटा समूहबाट ११३ जना फेलो प्रशिक्षित भएका छन् । उनीहरूको पहलमा ९३ वटा उद्यम स्थापना भएका छन् । त्यस्तै, देशभरका शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन गरिएका प्रमाणपत्र पाठ्यक्रमबाट १ हजार ४६७ जनाले तालिम पूरा गरेका छन् । यसबाट २२५ वटा उद्यम स्थापना भएका छन् ।

नबिल एसएसईले दिगो व्यावसायिक मोडेलमार्फत सामाजिक समस्याको समाधान खोज्न उद्यमीहरूलाई सहयोग गर्दै आएको छ । यस कार्यक्रमका सहभागीहरूले स्थानीय कृषि, पर्यटन, हस्तकला, ड्रोन प्रविधि, सूचना प्रविधि तथा युवाको मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा उद्यम विकास गरेका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले कार्यक्रमको पाँच वर्षको यात्राले उद्यमशीलतामार्फत सामाजिक समस्या समाधान गर्न र सकारात्मक परिवर्तन ल्याउन सकिने देखाएको बताए । समावेशी आर्थिक वृद्धि र दिगो सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्न बैंकले सामाजिक उद्यमशीलताको क्षेत्रमा सहयोग जारी राख्ने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने छ महिने फेलोसिप कार्यक्रममा आवासीय सिकाइ, विज्ञहरूको मार्गदर्शन, स्थलगत अध्ययन, व्यावसायिक मोडेल विकास तथा लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्ने अभ्यास समावेश छन् ।

कार्यक्रमको सातौँ फेलोसिप समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यस्तै, साझेदार शैक्षिक संस्थाहरूमार्फत नयाँ प्रमाणपत्र पाठ्यक्रमका समूहहरू सञ्चालन भइरहेका छन् ।

नबिल एसएसईमार्फत बैंकले युवा उद्यमीहरूका लागि अवसर विस्तार गर्नुका साथै दीर्घकालीन सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।