GBIME

धन फिर्ता बीमा योजना– आकर्षणसँगै बेथिति पनि बढ्दै

2.73K
shares

जीवन बीमा कम्पनीहरुको मूख्य काम सर्वसाधारणमा बीमा सम्बन्धी जनचेतना जगाउने र उनीहरुको आवश्यकता अनुसारको बीमा योजनाहरु विक्रि गर्ने हो। यसरी बीमा योजना विक्रि गरी जनतालाई संभावित दुर्घटनावाट हुने क्षतीको रक्षावरण गर्नु तथा भविस्यको लागि अनिवार्य बचत गर्ने बानी बसाल्नु नै बीमाको मूख्य उद्देश्य हो ।

यस्को लागि बीमा कम्पनीहरुले अन्यत्र प्रचलनमा रहेको र यस क्षेत्रको मानिसको आवश्यकता अनुसारको बीमा योजनाहरु ल्याएका हुन्छन । यो बीमा योजनाहरु मूख्यत: सावधिक (इन्डोमेन्ट), आवधिक (टर्म) र पेन्सन प्लानमा आधारीत भएर बनेका हुन्छन ।

सावधिक प्रकृति अन्तर्गत प्राय : सवै नेपाली बीमा कम्पनीहरुले धन फिर्ता बीमा योजना (Money Back Plan) विक्रि वितरण गरिरहेका छन। यो बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा प्रारम्भ भएको निश्चित अवधि पछि बीमाङ्क (Sum Assured) को निश्चत प्रतिशत फिर्ता भुक्तानी पाउदै जानु हो ।

सावधिक बीमा अन्तर्गत अन्य बीमामा कित मृत्यु पछि वा बीमाको भुक्तानी अवधि समाप्तिमा मात्र रकम पाइन्छ । धन फिर्ता बीमाको अर्को आकर्षण भनेको कुनै पनि कारणले मृत्यू भएमा पहिले किस्ता किस्तामा फिर्ता भुक्तानी लिएको बीमाङ्क रकम कट्टा नगरी पुरा बीमांक (Sum Assured) रकम र आर्जित बोनस पाउनु पनि हो ।

अझ दुर्घटनाबाट मृत्यू भएमा अन्य बीमा योजनामा पाए सरह डबल बीमांक सहित बोनस पाइन्छ । यो भनेको फिर्ता भुक्तानी लिएको रकम नकाटी सम्पुर्ण बीमांक रकम शत प्रतिशत, दुर्घटना लाभ अन्तर्गत थप बीमांक रकम र त्यो अवधि सम्म आर्जित बोनस रकम जोडेर बीमितले एकमुष्ठ रकम पाउने हुन्छ ।

एलआईसी नेपालले बनाएको मनि ब्याक प्लानको विज्ञापन

नेपालमा अहिले बीमा कम्पनीहरूले सजिलै मार्केटिङ गर्न तथा अभिकर्ता मार्फत सजिलै बिक्रि गर्न सकिने गरि प्रति वर्ष रकम फिर्ता पाउने गरी अथवा तीन वर्ष चार वर्ष पछि बीमितले तोकेको प्रतिशतले रकम फिर्ता पाउने गरी धन फिर्ता बीमाको प्रोडक्ट डिजाइन गरेको पाइन्छ।

धन फिर्ता बीमा योजना मध्ये पनि वार्षिक धन फिर्ता बीमा योजना सबै भन्दा बढी लोकप्रिय रहेको देखिन्छ । यो लोकप्रिय हुनुको प्रमुख कारण अभिकर्तालाई बढी कमिशन आउने र कम्पनीलाई व्यापार वृद्धि गर्न सजिलो भएर हो । वा

र्षिक धन फिर्ता बीमा योजनामा बीमा प्रारम्भ गरेको एक वर्ष पछि प्रत्येक वर्ष बीमांकको समानुपातिक रूपमा हुने रकम फिर्ता भुक्तानी पाउदै जान्छ । कसैले १ करोडको २० वर्षे जीवन बीमा गरेको छ भने एक वर्ष पछि प्रति वर्ष रू. ५००,०००/-फिर्ता पाउदै जान्छ । १५ वर्षे बीमा गरेको छ भने प्रति वर्ष ६ प्रतिशतले रू ६००,०००/-भुक्तानी पाई अन्तिम वर्ष १० प्रतिशत पाउने हुन्छ ।

यो बार्षिक धन फिर्ता बीमा योजनामा प्रति वर्ष बीमांक फिर्ता पाउने भएकोले प्रिमियम तिर्न सजिलो हुन्छ । उदाहरणको लागि १ करोडको बीमामा प्रति वर्ष ७००,०००/-प्रिमियम तिर्नु पर्नेमा रू. ५००,०००/-फिर्ता आउने भएकोले एक वर्ष पछि बार्षिक रूपमा आफू संग भएको रु.२००,०००/- ले मात्र पनि १ करोडको प्रिमियम तिरी जोखिम बहन गर्न सक्ने हुन्छ ।

अभिकर्ताहरूलाई यो बीमामा नविकरण प्रिमियम तिर्न लगाउन सजिलो हुन्छ । अरू योजनामा १ करोडको बीमामा प्रति वर्ष ७०००००/-नै तिर्नु पर्ने हुन्छ भने यो योजनामा प्रति वर्ष रु. २,००,०००/- मात्र तिरे पुग्छ ।

रु.२,००,०००/- मात्र तिरेर नविकरण हुने बीमामा अभिकर्ताले भने ७००,०००/- मै कमिशन र अन्य इन्सेन्टिभ पाउने भएकोले अभिकर्ताहरूको यो बीमा योजना बिक्रि गर्नमा नै अत्यधिक जोड हुने गरेको पाइएको छ । त्यसैले अभिकर्ताको रोजाईमा यो बीमा भई अत्यधिक बिक्रि हुने भएकोले कम्पनीको व्यवसाय बृद्धिमा यस्को प्रमुख भूमिका रहेको देखिन्छ।

तर बार्षिक धन फिर्ता बीमा योजना जति लोकप्रिय छ त्यति नै यस्मा बेथिती पनि बढदै गएको पाइन्छ । २५ प्रतिश्त कमिशन,१८ प्रतिशत इन्सेन्टिभ र ४/५ प्रतिशत थप सुविधाले यो बीमा योजनामा रु ३,५०,००० तिरे पछि एक करोडको बीमा हुने र अर्को बर्ष ५,००,०००/- पाउने भए पछि यो प्रोडक्ट अभिकर्तालाई कमाउने र कम्पनीलाई डुबाउने प्रोडक्ट बन्दै गएको छ।

बार्षिक धन फिर्ता बीमा योजना अभिकर्तालाई कमाउने प्रोडक्ट बन्दै गए अनुसार यस्मा विकृति पनि बढ्दै गएको देखिन्छ। बार्षिक रुपमा बिमांकको निश्चित तोकेको प्रतिशत ५ अथवा ६ प्रतिशतको हिसाबले रकम भुक्त्तानी पाइन्छ र अन्तमा बाँकी रहेको रकम मात्र पाउने व्यवस्था हुन्छ ।

उदाहरणको लागि २० बर्षे १ करोडको बीमामा ५/५ प्रतिशतको दरले १९ बर्ष सम्म ५/५ लाख पाए पछि बिशौ बर्ष अथवा  भुक्तानी म्याद नाघे पछि १ करोड बीमांक मध्ये बाँकी रु.५,००,००० /- मात्र पाउने हुन्छ । तर अभिकर्ताले मार्केटिङ गर्दा १९ बर्ष सम्म ५/५ लाख पाउने र अन्तमा फेरी पुरा बिमांक रकम १ करोड पाउने  भनेर झुक्याएर लोभ देखाएर बिमितलाई बीमा गराउछन ।

यसरी बार्षिक धन फिर्ता बीमा योजनामा १९ वटै कम्पनीका लाखौ बिमितहरु मर्कामा परिरहेका छन, झुठो सपनामा फसिरहेका छन । त्यसैले जीवन बीमामा बार्षिक धन फिर्ता योजनालाई व्यवस्थित गर्न, बीमितहरुलाई सुरक्षित गर्न तथा कम्पनीलाई नोक्सानबाट बचाउन नियामक निकायले वेलैमा आवश्यक पहल गर्न जरुरी देखिन्छ।

बीमितले फिर्ता भुक्तानी पाउने प्रिमियम नगद नदिई थप नगद रकम लिएर नविकरण प्रिमियम मै एडजस्ट गर्ने अथवा नविकरण प्रिमियम तिरेको दोस्रो तेस्रो दिन मात्र धन फिर्ता भुक्तानी दिने व्यवस्था गर्दा विकृति केही कम हुने बीमाका जानकारहरु बताउँछन । यस तर्फ सोच्ने हो कि ?