Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

5.2K
shares

काठमाडौँ, २३ साउन । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् ।

बैठकमा सांसद दिलकुमारी रावल थापाले वर्तमान सरकारले जनताका समस्याप्रति कम चासो दिएको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र घट्दा सोही अनुसार समायोजन हुनुपर्नेमा हाल दुई-दुई पटक मूल्य घटेको तर नेपाल आयल निगमले किन मूल्य नघटाएकोे भनी प्रश्न गरेकी छिन् ।

सांसद दिपा गुरुङले राज्यले युवालाई सही दिशा दिननसके युवावर्ग विकृतिको शिकार हुनसक्ने बताउँदै खेलकुद मन्त्रालयको बजेट कम भएको टिप्पणी गरिन् । खेलकुद विकास र समृद्धिको परिचायक भएको बताउँदै उनले सरकारले खेलाडीलाई सम्मान गर्ने गरी हौसला बढाउने कार्य गर्नुपर्नेमा जोड दिइन ।

सांसद खिमलाल देवकोटाले सुशासनका लागि पारदर्शीता आवश्यक रहेकामा जोड दिँदै सबै मन्त्रीका काम जनताले हेर्न पाउने गरी सिसीटिभीको व्यवस्था गर्नुपर्ने बताएका छन् । ।

सांसद गोमादेवी तिमिल्सिनाले देशको राजधानीमै फोहरको समस्या बढेको, ढल फुटेर दुर्गन्ध बढेको, बाटोका खाल्डामा पानी भरिएर हिँड्न गारो भएको बताउँदै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गाराइन । केही राजनीतिक दलका क्रियाकलापका कारण राजनीतिक दलको विकल्पको आवाज उठ्न थालेकामा चिन्ता व्यक्त गर्दै हालका उपलब्धि यिनै दलका कारण आएको हो भन्ने कुरा पनि विर्सन नहुने बताइन्।

सांसद भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा विभिन्न स्थानमा केही व्यक्तिका नाम अपमान हुने गरी उल्लेख भएको सन्दर्भमा ध्यानाकर्षण गराउँदै यस्ता लापरबाही गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
सांसद सुमित्रा विसीले महँगी बढेर जनतालाई थप दुःख भएको उल्लेख गर्दै सरकारले अनुगमनमा कडाई गरी नियन्त्रण गर्नुपर्ने बताएकी छिन् ।