शिखर इन्स्योरेन्सको नाफासँगैं बीमा शुल्क पनि बढ्यो
वि.सं.२०७९ साउन ३० सोमवार १६:१९
shares

काठमाडौं, ३० साउन । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा २८ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा ३१ करोड १३ लाख नाफा कमाएको कम्पनीले गत आवमा ४० करोड १४ लाख पुर्याएको छ । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी २१ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा ५८ करोड १० लाख रहेको कम्पनीको आम्दानी गत आवमा ७० करोड ४२ लाख पुगेको छ ।
त्यसैगरी कम्पनीको बीमा शुल्क पनि अघिल्लो आवको तुलनामा गत आवमा २६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा ३ अर्ब ९७ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ५ अर्बभन्दा बढी आर्जन गरेको छ ।
३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि चुक्तापूँजी २ अर्ब २८ करोड पुगेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म जगेडामा ७० करोड ९७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४१ करोड जम्मा भएको छ । त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमलव ८, मूल्य आम्दानी अनुपात ३६ दशमलव ९ गुणा र प्रतिशेयर नेटवर्थ २५४ रहेको छ ।

















