धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै
वि.सं.२०७९ भदौ ४ शनिवार १३:३२
shares

काठमाडौं, ४ भदौ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवद्र्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ ।
डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् ।
जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्री खोलाको पहरामा अड्किएको सडक निर्माण कार्य धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्री खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।
आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेपछि सुरुङ, विद्युत्गृह निर्माण थाल्ने तयारी भएको बताए। सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।
म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्राली र ऊर्जा डेभलपर्सबीच हालै लगानी सम्झौता भएको छ । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ ।














