‘बालबालिका खुसीले गदगद भएका छन्, बालबालिकाको प्रयोग भयो भन्नु गलत’
वि.सं.२०७९ भदौ ८ बुधवार ०९:५८
shares

काठमाडौं, ८ भदौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफू सहभागी कार्यक्रममा बालबालिकाको प्रयोग नभएको बताएका छन् । आफू अध्ययन गर्ने विद्यालयमा जाने बाटोमा पुल बनेपछि बालबालिकाहरु खुसीले गदगद भएर कार्यक्रममा सहभागी भएको उनले बताए ।
उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहेका परराष्ट्रमन्त्री खड्काले बालबालिकाहरु खुसीले कार्यक्रममा सहभागी भएको विषयलाई प्रयोग भनेर समाचार आउनु गलत भएको बताए । केही दिन पहिले केटिएम भ्वाइस डटकममा ‘परराष्ट्रमन्त्री सहभागी कार्यक्रममा बालबालिकाको प्रयोग’ शिर्षकमा समाचार प्रकाशन भएको थियो ।
उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेससँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु समेत सहभागी थिए । एमालेबाट त्रियुगा नगरपालिकाको उपमेयर जितेकी महेश्वरी राई समेत कार्यक्रममा सहभागी थिइन् । माओवादी उदयपुरका नेता तथा स्थानीय वडा सदस्य प्रवेश खड्काले पनि बाहिर आएको जस्तो विषय नभएको बताए ।
उनका अनुसार बालबालिकाहरु स्वतस्फूर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन् । ‘म आफै कार्यक्रममा सहभागी छु, बालअधिकारका लागि पनि काम गरेको मान्छे हुँ’ वडा सदस्य खड्काले भने, ‘त्यहाँ राजनीतिक भाषण सुन्नका लागि बालबालिका बोलाइएको होइन ।’


















