Dhulikhel Eco Banner new

बाख्रापालनबाट मनग्य आम्दानी

4.19K
shares

काठमाडौं, ८ भदौं । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमैलागेका छन् ।

“बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन् । सुरूआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठापाठीबाट व्यावसाय थालेका हुन । हाल उनको फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ ।

बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन् । उनलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो साथ सहयोग रहेको छ । “गाई, भैँसी र कुखुरासमेत पालेको छु”, उनले भने । स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका बुढाथोकीले केहीलाई रोजगारीसमेत दिएका छन् । बाह्र कक्षासम्म अध्ययन गरेका उनले फार्म विस्तारको योजना बनाएका छन् ।

चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसीबाख्रा र गाईभैँसीका लागि घाँस परालको जोहोसमेत गरेका छन् । कृषि पेशाका लागि कहीँकतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनि बताउछन् । “सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ”, बुढाथोकी भनछन् । बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ । उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ ।