Dhulikhel Eco Banner new

डेङ्गी : के मेवाको पात खाँदा यो रोग निको हुन्छ ?

5.55K
shares

काठमाडौं, २२ भदौ । लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै त्यस्तो घरेलु उपचार गर्ने बिरामीहरू भेटिने क्रम बढेको उनीहरू बताउँछन् ।

“डेङ्गीको उपचारका लागि अचुक औषधि मेवाको पात“ भन्ने शीर्षक र यस्तै आशयका समाचार र त्यससँग सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन् ।

विभिन्न रोग लाग्दा घरेलु उपचार भनेर कहिले अम्बाको पातले कुल्ला गर्ने त कहिले मेवाको पातको जुस खान सुझाइएका सामग्रीहरू देखिन्छन् ।

के मेवाको पात वा अन्य घरेलु उपचारले सघाउ पुग्छ ?

तर डेङ्गीका लागि त्यस्तो घरेलु उपचारले सघाउ पु¥याउने कुनै वैज्ञानिक आधारहरू नरहेको चिकित्सकहरू बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे घरेलु उपचार गर्दा त्यसले शरीरमा झन् नकारात्मक असर पु¥याउन सक्ने ठान्छन् ।

उनको अनुभवमा सामाजिक सञ्जालमा पढेको वा हेरेको भरमा डेङ्गीका बिरामीले घरेलु उपचार गर्ने गरेको धेरै पाइन्छ ।

उनले भने, “कतिपय अनावश्यक सल्लाह मानेर विभिन्न चिज खाँदा झन् बढी समस्या भएको पनि देखेका छौँ। पेट दुख्ने, धेरै उल्टी हुने जस्ता जटिलता डेङ्गीको सङ्क्रमणले हो वा अनावश्यक खानेकुरा खाएर हो भन्ने थाहा पाउन कतिपय अवस्थामा हामीलाई गाह्रो हुन्छ ।“

कतिपय बिरामीले मेवाको पातको रस र काँढा खाने गरेको प्रशस्त सुनिने उनी बताउँछन् ।

तर त्यसो गर्दा शरीरमा झन् नकारात्मक असर परेर बिरामीलाई अन्य जटिलता देखिन सक्ने उनी बताउँछन् ।

उनले भने, “डेङ्गी हुँदा मानिसहरूमा इलेक्ट्रोलाइटनुने कमी भएको हुन्छ । मेवाको पात वा अन्य घरेलु उपचार गर्दा त्यसले झन् वाकवाकी लाग्ने वा खान मन नलाग्ने हुन सक्छ । बिरामीलाई झन् कमजोर बनाउन सक्छ ।“

सामान्य खालको डेङ्गीको बिरामी हो र ज्वरो आएको छ वा शरीर वा टाउको दुखेको छ भने पारासिटामोल खाने गर्नुपर्छ। त्यसबाहेक घरमा सामान्यतया खाने सन्तुलित खानेकुरा, सागपात र अरू बेलाभन्दा बढी झोलिलो खानेकुरा खान चिकित्सकहरू सल्लाह दिन्छन् ।

तर सामान्यभन्दा बढी समस्या देखिए चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने डा. चालिसेले बताए ।

“कसैले यसको पात खानु वा कसैले यसको जरा खानु भन्ने कुनै वैज्ञानिक रूपमा प्रमाणित कुरा होइन। जबसम्म डेङ्गीका जटिल समस्याहरू देखिँदैनन् तबसम्म डराउनुपर्ने, आत्तिनुपर्ने अनावश्यक हल्लाको पछाडि लाग्नुपर्ने कुनै कारण छैन,“ उनले भने ।

तर बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता अलि जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न उनी सुझाउँछन् ।

लामखुट्टे नियन्त्रण गर्नु र लामखुट्टेको टोकाइबाट जोगिनु नै रोगबाट जोगिने उत्तम उपाय भएको विज्ञहरू बताउँछन्

डेङ्गीको अवस्था अहिले कस्तो छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो (भदौ १५) को तथ्याङ्क अनुसार नेपालमा साउन महिनायता ६६ जिल्लामा डेङ्गी देखा परेको छ।

सन् २०२२ मा ज्यानुअरीयता भने देशका ७२ वटा जिल्लामा डेङ्गीका सम्भावित बिरामी देखिएको विवरण मन्त्रालयमा आएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले  बताए।

विगतमा नदेखिने कतिपय हिमाली जिल्लामा पनि फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

डेङ्गीका सम्भावित सङ्क्रमण हुनेहरू साउनयता अहिलेसम्म २,१७९ रहेकोमा ४८ प्रतिशत महिला र ५२ प्रतिशत पुरुष छन् ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गीको सङ्क्रमण देखिएयता सबैभन्दा धेरै सन् २०१९ मा झन्डै १८,००० जनालाई देखिएको थियो ।

यो वर्ष अहिलेसम्म सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ५,००० नाघिसकेको छ ।

तर बिरामीको सङ्ख्या आधिकारिक तथ्याङ्कमा देखिएभन्दा धेरै हुनसक्ने धारणा स्वास्थ्य अधिकारी र विज्ञहरूको छ। रोगबाट जोगिने उपायमा ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । बीबीसी