GBIME

कसैलाई पिटेर होइन, मन जितेर बिजय प्राप्त गर्नुपर्छ

डा. बुद्धि मल्ल

10.46K
shares

भनिन्छ, मानिसले शत्रुहरु कमाउनु पर्दैन, जिवनको बिभिन्न चरणहरुमा शत्रुहरु आफै बन्छन् र क्रमश थपिंदै पनि जान्छन् । केहि मानिसहरुले बिभिन्न तरिकाबाट शत्रुहरुलाई कम गर्दै जिवनमा अगाडि बढ्छन् भने अधिकांश मानिसहरुले थप्दै जान्छन् ।

नेपालीमा एउटा प्रचलित भनाई छ : पानीलाई पकाएर बाक्लो हुंदैन र बैगुनीलाई फकाएर बाक्लो हुंदैन । यस भनाईको कुनै विशेष ठांउमा सहि अर्थ होला र यस प्रचलित भनाईलाई गलत भन्नु उपयुक्त पनि नहोला तर, यसलाई पनि सकरात्मक तरिकाले बुझ्न सकिन्छ । स्वच्छ पानीलाई मात्र पकाएर बाक्लो हुंदैन तर, त्यसमा पिठो जस्तो केहि चिज मिसाएर पकायो भने बाक्लो हुन्छ त्यसरी नै बैगुनीलाई पनि केहि गुण लगाएर फकायो भने फकिन सक्छ । मांया र प्रेमको ताकतले बिरालो र मुसा बिच पनि राम्रो दोस्ति हुन सक्छ, कुकर र बिरालो पनि संगै मिलेर खेल्न सक्छ ।

एकजना राजाले एउटा सर्पलाई मार्न खोज्छ तर सर्प एकदमै धेरै घाईते भएतापनि ज्यान बचाएर भाग्न सफल हुन्छ । त्यस घटनापछि राजाले पटक पटक सपनामा उक्त सर्प देख्छ र सर्पले राजालाई बदला लिने धम्कि दिन्छ । सपनाबाट त्रसित राजाले देशकै बिख्यात ज्योतिषलाई भविष्य हेर्न लगाउंछन् । ज्योेतिषले राजालाई सर्पले उनलाई टोक्ने मिति र समय नै बताईदिन्छन् ।

ज्योतिषको यसअघिको सम्पूर्ण भविष्यवाणि सहि भएकोले राजाले उनको भविष्यवाणि माथि बिश्वास गर्दै मर्ने नै भए किन नराम्रो गरेर मर्ने भन्ने सोंचेर सर्पमाथि पहिला गरेको आक्रमणको पश्चाताप गर्ने र सर्पमाथि गुण लगाउने बिचार गरेर सर्पलाई दिनदिनै दुध चढाउंछन र सर्प बस्ने ठांउबाट आफ्नो महलकोे बाटैभरी सुगन्धित फूलहरु र दुधहरु राखिदिन्छन् ।

सर्पले दिनदिनै दुधहरु खानपाएको थियो, राजालाई मार्ने दिन सर्प राजदरबारतर्फ जाने बाटैभरि फूलैफूलको सुगन्धले सर्प आनन्दित हुंदै दुध मिठो मानि मानि खांदै मस्तसंग हिंड्छ । चारैतिर फूलहरुको बास्ना र मिठो दुध पिंउदा पिंउदा सर्पको मनबाट नकरात्मक भावनाहरु हट्दै गईरहेको हुन्छ । जब सर्प राजमहलको गेटमा पुग्छन् सुरक्षाकर्मिहरुले पनि सर्पलाई मुस्कानका साथ स्वागत गर्छन ।

सबैबाट यति राम्रो ब्यवहार पाएको सर्प अन्तमा राजाकहां गएर आफूले उनलाई टोक्न आएको तर, उनको यस्तो ब्यवहार देखेर मन परिवर्तन भएको भन्दै उल्टै राजासंग माफि माग्छन्, राजाले पनि पहिला आफूले ज्यानको डर लागेर सर्पलाई आक्रमण गरेकोमा माफि माग्छन्, त्यसपछि राजा र सर्पको दुश्मनी समाप्त भएर मित्रमा बदलिन्छन् ।

शत्रुलाई पनि माया गरेर मित्र बनाउन सकिन्छ भनेर महान ब्यक्ति नेल्सन मण्डेलाले संसारलाई शिक्षा दिएका छन् । २७ बर्षको कठोर बन्दि जिवनमा उसलाई शारिरिक तथा मानसिक यातना दिने जेलर लगायत उनका कट्टर दुश्मनहरुलाई आफ्नो सहयात्रि बनाए दक्षिण अफ्रिकालाई काला, गोरा सबैको देश हो भन्ने भावना जगाएका थिए ।

डेनी, भुवन के.सि., तृप्ति नाडकर अभिनित सन् १९८८ मा बनेको नेपाली चलचित्र साईनोमा नायक डेनीले अर्का नायक भुवन के.सि.लाई मार्न लखेट्दा भुवन के.सि.को गाडी दुर्घटना भएर मर्छन् र त्यसपछि पुलिसबाट बच्नको लागि डेनी भाग्दै भुवन के.सि.को श्रीमति तृप्तिसंग उनको घरमा घरेलु कामदारको रुपमा बस्छन् । डेनीको ब्यवहारले तृप्ति र सानो छोरालाई एकदमै प्रभावित बनाउंछ र फिल्मको अन्तमा प्रहरीले आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरेपछि पनि नायिका तृप्तिले डेनीप्रति सकरात्मक भएर फर्केर आउनुस, हामि तपांईलाई पर्खेर बस्छौं भनेर भन्छिन् ।

पैसाले पैसा तान्छ भने झै मांयाले मांया निम्त्यांउछ । डेनीले उनि र उनको छोराप्रति गरेको मांया, एकल महिलामाथि गरेको सम्मानले गर्दा पछि आफ्नै श्रीमानको हत्याको आरोप लाग्दा समेत तृप्तिलाई भित्र भित्र उनिप्रति मांया पलाईरहेको हुन्छ र फलस्वरुप उनलाई जेलको संजाय पूरा भएपछि जिवनको सहयात्री मान्न समेत तयार हुन्छिन् ।

मांयाले मांया निम्त्याउंछ, मांया र राम्रो संस्कारले खुंखार अपराधीहरुलाई पनि एउटा असल मानिस बनाउन सकिन्छ भन्ने बेजोड उदाहरण नायक भुवन के.सि., दिलिप रायमाझी, निखिल उप्रेति लगायत अन्य कलाकारहरु अभिनित सन् २००६ मा रिलिज भएको चलचित्र मानिसमा प्रस्तुत गरिएको छ । चलचित्रमा प्रहरी अधिकृत बनेका भुवन के.सि.ले ठुला ठुला अपराध गरेका केहि अपराधीहरुलाई आफ्नै जिम्मेवारीमा असल मानिस बनाउनको लागि प्रहरी प्रशासनसंग आफ्नै घर धितो राखेर एउटा जंगलबिचको गांउमा लगेर असल शिक्षा दिएपछि उनिहरु समाजमा एउटा जिम्मेवार नागरिकको रुपमा परिवर्तन गराउन सफल हुन्छन् ।

एउटा गोलिले शत्रुलाई मार्न पनि सक्छ भने त्यहि गोलिको कारणले अन्य अन्य धेरै शत्रुहरु पैदा गर्न सक्छन् त्यसैले कुनै पनि भौतिक हतियार स्थाई रुपमा शत्रुहरु समाप्त गर्ने उपाय नहुन सक्छ, स्थाई रुपमा शत्रुहरु समाप्त गर्नको लागि उनिहरुको मन जित्नुपर्छ र त्यसको लागि शत्रुहरुलाई पनि मांया दिएर मित्र बनाउने उपयुक्त बिकल्प हुन सक्छ ।

नेपालीमा एउटा प्रख्यात भनाई छ : बैगुनिलाई गुणले मार्नुपर्छ । कुनै पनि मानिसले आफूमाथि गरेको अन्याय, अत्याचार वा नकारात्मक ब्यवहारको बदलामा उसलाई राम्रो ब्यवहार दिएर उसको मन जित्न सकिन्छ । माहात्मा गान्धिले आफ्नो जिन्दगीमा तिनवटा सिद्धान्तहरुलाई प्राथमिकता दिएका थिए १. नराम्रो नदेख २. नराम्रो नसुन र ३. नराम्रो नबोल । माहात्मा गान्धिले यहि सिद्धान्तहरुलाई अवलम्बन गरेर नै आफूमाथि र भारतियहरु अपमान गरेर शासन गरिरहेका बृटिशहरुलाई शान्तिपूर्ण आन्दोलन मार्फत भारत छाड्न बाध्य बनाएका थिए, बृटिशहरुले पिट्दा पनि उनिहरुलाई मुस्कान दिन्थे तर, हात उठाउथेनन् ।

पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए : शत्रुहरु समाप्त गर्ने सबैभन्दा उत्तम उपाय उनिहरुलाई मित्र बनाउनु हो । त्यसैगरि हल्याण्डका पूर्व लेखक कोरी टेन बुमले तिमिले कहिल्यै पनि परमेश्वरको प्रेमको सागरलाई छुन सक्नुहुन्न जबसम्म तपांईले आफ्ना शत्रुहरुलाई माफि दिनुहुन्न र प्रेम गर्नुहुंदैन । अब्राहम लिंकन र कोरी टेन बुम दुबैको भनाईबाट पनि शत्रुलाई मित्र बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएका छन् ।

शत्रुलाई कराएर थर्काएर एकैछिनको मनको शान्ति मिल्न सक्छ, तर मांया दिएर साथी बनाउन सके जिन्दगीभर खुशी मिल्छ र यस्ता मानिसहरुलाई समाजले पनि उच्च स्थान दिन्छ । कसैलाई पिटेर बिजय प्राप्त गर्नुभन्दा उसको मन जितेर बिजय प्राप्त गर्नु सबैभन्दा राम्रो हुुन्छ । अब्राहम लिंकनको भनाई अनुसार शत्रुहरु समाप्त गर्नको लागि उनिहरुलाई मित्र बनाउनु नै उत्तम हुन्छ । शत्रु पनि मित्र बन्छन् भने त्यो भन्दा ठुलो जित कुनै हुन सक्दैन । –लेखक डा. मल्ल बैंकर हुन् ।