Dhulikhel Eco Banner new

लघुबीमामा प्रतिफलको सम्भावना कम, लाइसेन्सको लागि आवेदन नै परेन

युकला पौडेल

6.96K
shares

काठमाडौं, ३० भदौ । बीमा समितिले ७ वटा लघु बीमा लाईसेन्सको लागि आवेदन आह्वान गरेको २० दिन वितिसकेकोछ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालका अनुसार अहिले सम्म एउटा पनि निवेदन दर्ता भएको छैन । लघु बीमा कम्पनीको नीति बन्नु अघि नै १५/१६ वटा कम्पनी इजाजतको लागि समितिमा दर्ता भैसकेको थिए । तर समितिले लघु बीमा सम्बन्धी नीति नियम बनाई भाद्र १० गते नयाँ कम्पनीको लागि प्रस्ताव आह्वान गरेपछि भने आवेदन नै परेन ।

तोकिएको अवधिमा एउटा पनि निवेदन दर्ता नहुनु नयाँ कम्पनी प्रति आकर्षण घटेको संकेत हो कि उच्च राजनैतिक सेटिङमा ७ वटै लाइसेन्सको सौदा भसकेकोले निवेदन नपरेको हो ? सबैको चासोको विषय बनेको छ ।

२०७४ को आम निर्वाचन अगाडि २०७३/७४ मा यसैगरी १३ वटा जीवन र निर्जीवन बीमा कम्पनीको इजाजत वितरण गरिएको थियो । प्रति कम्पनी ३ देखि ५ करोड चुनावी खर्च दिने समूहलाई इजाजत दिएको तत्कालिन अवस्थामा इजाजत लिने कम्पनीका लगानीकर्ताहरुले भनेका छन् । बीचमा हिमालयन री इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिँदा पनि अर्वौ रकमको चलखेल भएको राष्ट्रिय छापाहरुमा आएकै थियो ।

पूनर्बीमा कम्पनीको लागि प्रुडेन्सियल, जेन्यून, हिमालयन, काठमाण्डौ र अन्नपुर्ण रि इन्स्योरेन्स समेतको पाच वटा आवेदन परेको थियो । तर शक्तिशाली माफिया दलाल र धनाड्य व्यापारिक समूहको पूर्व सेटिङमा रातारात हिमालयन री इन्स्योरेन्स समूहलाई लाइसेन्स दिइयो ।

एकथरी व्यवसायीको भनाईमा यो पटक पनि एकमुष्ट चुनावी खर्च उठाउने गरी गठबन्धन नेताहरुले शक्तिशाली माफिया गिरोहलाई ७ वटै लाइसेन्स वेचिसकेका छन् । लघु बीमाको लाइसेन्स लिन चाहने व्यवसायीक समूहहरु बीमा समिति र अर्थ मन्त्रालय जादा हाकाहाकी लघु बीमाको लागि प्रयास नगर्नु लाइसेन्स पाउने संभावना छैन भन्ने गरेबाट पनि नयाँ लाइसेन्सको लागि सही मान्छे र समूह दर्ता गर्न नगएको बुझ्न सकिन्छ ।

अर्कोतिर देशमा अहिले १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरु कार्यरत रहेका छन । जीवनको २०० करोड र निर्जीवनको १०० करोड चुक्ता पूँजी हुँदा नै धेरै कम्पनीले व्यवसाय गर्न सकेका थिएनन् । अधिकांशले बैंक मुद्दति बराबर पनि प्रतिफल नदिइ रहेको अवस्था छ ।जीवन र निर्जीवन बीमा कम्पनी धेरै भयो भनेर जीवनलाई ५०० करोड र निर्जीवन लाई २५० करोड पूँजी पु¥याउन बीमा समितिले बाध्यात्मक व्यवस्था गरि सकेको छ । पूँजी वृद्धि मात्र नभई मर्जरको लागि बीमा समितिले ठुलै दवाव दिए पछि १९ वटा जीवन र निर्जिवन बीमा कम्पनी मर्जरमा जान सम्झौता गरिसकेका छन् । व्यवसाय गर्न नसकिने र लाभांश पनि दिन नसकिने भए पछि मात्र यी कम्पनीहरु मर्जरमा गएको प्रष्ट छ ।

निर्जीवन र जीवन बीमा कम्पनीहरुको यस्तो प्रतिकुल परिस्थितिमा निर्वाचन अगाडी ठुलै रकम उठाउने योजना सहित बीमा समितिले लघु बीमाको लाइसेन्स खोलेको छ । धेरैले लघु बीमालाई लघु वित्त संस्था सँग तुलना गरेको पाइन्छ। लघु वित्त संस्था १ देखि २ करोडमा आएका थिए ।

उनीहरुले बैंकहरु सँग होलसेलमा ४/५ प्रतिशत ब्याजमा फण्ड लिई ग्रामिण क्षेत्रमा १७/१८ प्रतिशतमा चर्को सेवा शुल्क लिएर लगानी गरिरहेका थिए । बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु लघु वित्त संस्थाको कार्यक्षेत्रमा गएका थिएनन्। यसरी लघु वित्तले थोरै पूँजीमा धेरै मुनाफा गर्दा लाभांश राम्रो दिएका र चुक्ता पूँजी थोरै भएकोले हकप्रद पाउने आशामा शेयर मूल्य जहिले पनि धेरै हुनु स्वभाविक थियो ।

तर लघु बीमा एकै पटक ७५ करोड चुक्ता पूँजीमा खोल्नु पर्ने र लघु बीमाले प्रस्तावित ३ लाख भित्र मात्र बीमा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ । ठुला जीवन र निर्जीवन बीमा कम्पनीले पनि लघु बीमा कम्पनीले गर्ने भनिएको कारोबार गर्ने भएकोले लघु बीमाको राम्रो व्यवसाय हुने संभावना नै रहदैन । ठुलो माछाले सानो माछालाई खाए जस्तै लघु बीमाले संचालन खर्च बढी गरेर पनि ३ लाख भित्रको सस्तो पोलिसी बेच्न सक्दैन र बेचिहाले पनि लाभांश दिनै नसकेको अवस्था रहन्छ भने अर्को आकर्षण हकप्रदको संभावना त नरहने पक्कै देखिन्छ ।

५०० करोडको जीवन र २५० करोडको निर्जीवन बीमा कम्पनीको अहिले सोचेजस्तो बीमा कारोबार नभइरहेको अवस्था छ । बीमा समितिको नयाँ नयाँ नीति निर्देशन र प्रोभिजनको थप व्यवस्थाले भइरहेका बीमा कम्पनीलाई लाभांश वितरण गर्न कठिनाई छ । बीमा कम्पनीको शेयर मूल्य बजार ओरालो लागेको अवस्थामा पूँजी बृद्धि पछि पर्ने नकरात्मक स्थितिले पूँजीगत लाभ लिने अवस्था पनि रहँदैन । यस्तो प्रतिकुल अवस्थामा लघु बीमाले लाभांश देला र पाँच वर्ष पछि पूँजीगत लाभ पाइएला, हकप्रद देला भनी आशा गर्ने कुनै ठाउ देखिदैन्।

विश्वव्यापी आर्थिक मन्दीले देशको समग्र अर्थ व्यवस्था कता जाने ठेगान छैन । बजारमा नयाँ नयाँ लगानी गर्न लगानीकर्ता एकदमै डराएको अवस्था छ । बैंक, वित्त कम्पनी र सहकारीहरु तरलता र लगानी योग्य रकमको अभावमा नाजुक स्थितिबाट गुज्रिरहेका छन । लघु बीमाको लाइसेन्स पाइहाल्ने अवस्था भए पनि व्यक्ति र व्यवसायी संग शेयरमा तुरुन्त लगानी गर्ने स्थिति पनि छैन र खुसि खुसी लगानी गर्न चाहेको अवस्था पनि देखिदैन ।

त्यसैले बीमा समितिले ७ वटा लघु बीमाको लाइसेन्सको लागि भाद्र १० मा आवेदन हाल्न आह्वान गरेतापनी २० दिन व्यतित भैसक्दा पनि आज सम्म एउटा पनि निवेदन परेको छैन । किन नपरेको भन्ने प्रश्नमा सबै लाइसेन्स ठुला व्यवसायी घराना वा शक्तिशाली माफियाले सेटिङ्गमा लिइसकेको भन्ने हल्लामा खासै दम देखिदैन ।

वास्तविकतामा ७५ करोडमा खुल्ने लघुबीमाले सोचे जस्तो कारोबार गर्न नसक्ने, लघु वित्त जस्तो मुनाफा कमाउन पनि नसक्ने, लामो समय हकप्रदको संभावना पनि नरहने र त्यो भन्दा पनि नयाँ लघु बीमा कम्पनीमा लगानी गर्न सक्ने पूँजी नभएकोले पनि ७ वटा लघुबीमाको लाइसेन्समा खासै आकर्षण नदेखिएको जानकारहरु बताउछन् ।