रोजगारीको खोजीमा भदौ महिनामा मात्रै ७६ हजार बढी विदेशिए, विदेशिने अधिकांश श्रमिक अदक्ष
वि.सं.२०७९ असोज ४ मंगलवार १०:०४
shares

काठमाडौं, ४ असोज । पछिल्लो समय वैदेशिक रोजगार व्यवसाय लयमा फर्किदै गएको छ । कोरोनाका कारण करिब २ वर्ष सिथिल देखिएको यो क्षेत्र अहिले पुरानै अवस्थामा फर्किएको हो ।
वार्षिक ५ लाखभन्दा बढी नेपाली रोजगारीको अवसरका लागि विदेशिने गरेको सरकारी तथ्यांकले देखाएको छ । गत वर्ष मात्रै नेपालबाट रोजगारीको खोजिमा ६ लाखभन्दा बढी नेपाली विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्षको सुरु देखिनै वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुँदै गएको थियो । साउन महिनाको तुलनामा चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा रोजगारीका लागि विदेश जानेको संख्या वृद्धि भएको देखिएको छ । साउन महिनामा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ६३ हजार ३९ जना रहेको थियो ।
यस्तो संख्या भदौ महिनामा ७६ हजार ४०३ जना रहेको छ । यो संख्या २०७५ सालको वैशाख महिना पछि एकै एक महिनाको अवधिको धेरै हो । त्यति खेर नेपालबाट १ लाख ३३ हजार नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर त्यस पछि भने लगातार रुपमा वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको थियो ।
घट्दो क्रममा रहेको वैदेशिक रोजगारीमा कोरोना महामारीले अझ बढी प्रभाव पारेको थियो । कोरोनाले गर्दा अस्तव्यवस्त भएको वैदेशिक रोजगारी आर्थिक वर्ष २०७७/७८ श्रम स्वीकृति लिई १ लाख ६६ हजार ६९८ जना विदेशिएका थिए । जुन अहिलेसम्मकै सबैभन्दा न्यून हो ।
भदौ महिनामा श्रम स्वीकृति लिएर विदेश जानेमध्ये अधिकांश मलेसिया गएका छन् । विभागको तथ्यांक अनुसार भदौ महिनामा नेपालबाट रोजगारीका सिलसिलामा ३५ हजार ३७२ जना नेपाली मलेसिया गएका छन् । कोरोनाका कारण बन्द रहेको मलेसिया खुलेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि वृद्धि भएको हो ।
भदौ महिनामा मलेसियापछि सबैभन्दा धेरै कतार गएका छन् । भदौमा ११ हजार ७७५ जना नेपाली रोजगारीको खोजिमा कतार तर्फ लागेका छन् । त्यस्तै ८३६५ जना युएई गएका छन भने ६७८४ जना साउदी अरब रोजगारीका लागि गएका छन् । त्यस्तै यो अवधिमा रोजगारीका लागि कुवेत जाने नेपालीको संख्या ५ हजार २९ जना रहेको छ । भदौ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर ८८ देशमा रोजगारीका लागि नेपालीहरु गएका छन् ।
रोजगारीमा जाने अधिकांश अदक्ष
नेपालबाट रोजगारीको लागि विदेश जाने अधिकांश नेपालीहरु अदक्ष रहेका छन् । सरकारले दक्ष श्रमिक पठाउने भन्दै भाषण गरे पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन् । भदौ महिनामा नेपालबाट उच्च दक्षता हासिल गरेका जम्मा १३ जना रोजगारीका लागि विदेश गएका छन् । त्यस्तै व्यवसायी दक्षता हासिल गरेर १४६ जना विदेश गएका छन् भने २५ हजार ८३ जना अदक्ष श्रमिक विदेश गएका छन् ।
त्यस्तै कुनै न कुनै सिप हासिल गरेर विदेश जाने नेपालीको संख्या ४६ हजार ६९ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । भदौ महिनामा ५ हजार ९२ जना अर्ध कुशल श्रमिक वैदेशिक रोजगारीमा गएको देखिएको छ ।



















