धनुषामा चुनावी माहोल- मतदाता जोड घटाउमा व्यस्त
वि.सं.२०७९ कात्तिक २ बुधवार १०:४१
shares

काठमाडौं, २ कात्तिक । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार धनुषामा प्रचारप्रसारमा गाउँ पसेका छन् । विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ ।
चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेता आन्तरिक तथा सामूहिक बैठक, छलफल र भेलालाई तीव्र पारेको नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिए ।
“गठबन्धनका उम्मेदवारसँगै हामी पनि चुनावी तयारीमा जुटेका छौँ”, उनले भने, “अहिले दलहरूको आफ्नो आन्तरिक तथा गठबन्धनको बैठक, छलफल जारी छ ।” उम्मेदवारले पनि आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् उनको भनाइ छ ।
एमाले–जसपा गठबन्धनले पनि धनुषाको सबै क्षेत्रमा चुनावी रणनीति बनाउन बैठक, भेला जारी राखेको एमाले नेता रामसुन्दर यादवले बताए। दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवार गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र होइन्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्को महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । अहिले चोकचोकको चिया पसलदेखि ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुने गरेको छ ।















