Dhulikhel Eco Banner new

पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन

4.41K
shares

काठमाडौं, ४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन गरिएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तीन महिनाको अवधि साउनदेखि असोज महिनामै स्वास्थ्यचौकीमा तीन हजार एक सय ४१ जनाले सेवा लिएका छन् ।

रुघाखोकी, ज्वरो, छालासम्बन्धी, जीउ दुख्ने, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, ग्याष्टिक, मुटु, आँखा, प्रजनन स्वास्थ्य, यौनरोगसम्बन्धीका बिरामी बढी स्वास्थ्यचौकी पुग्न थालेका हुन् । “चिकित्सकसहितको सेवा सञ्चालन नहुँदा मुस्किलले महिनामा सय जति बिरामी उपचारका लागि पुग्ने गरेका थिए”, स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक गोविन्दराज जोशीले भने, “हाल बिरामीको सङ्ख्या निकै बढेको छ, व्यवस्थापन गर्न चुनौती थपिएको छ ।” बिरामीको चापअनुसार एक जना थप चिकित्सकको आवश्यकता देखिएको उनले बताए ।

चिकित्सकको व्यवस्थासँगै न्यून शुल्कमा उपचारका लागि स्वास्थ्यचौकी पुग्ने बिरामीलाई इसिजी, अल्ट्रासाउण्ड, अक्सिजन नेवुलाइजर सेवा सञ्चालन गरिएको छ । “स्वास्थ्यचौकीमा यी उपकरण उपलब्ध रहेका भए पनि सञ्चालन गर्ने प्राविधिक नहुँदा सेवा दिन सकिएको थिएन”, स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “चिकित्सले उपकरण सञ्चालन गरी सेवा दिइरहेका छन, सेवालाई गुणस्तरीय बनाउन उपकरण सञ्चालन गर्ने प्राविधिकको व्यवस्थाका लागि नगरपालिकासँग माग गरेका छौँ ।”
उनका अनुसार आकस्मिक सेवा सञ्चालन गरिएको भए पनि चिकित्सकले चलाउने औषधिको आपूर्ति हुनसकेको छैन । स्वास्थ्यचौकीमा निःशुल्क वितरणका लागि उपलब्ध हुने ९८ थरिका औषधिमध्येका औषधिको अभाव हुने गरेको छ । जसबाट बिरामीलाई औषधि उपलब्ध गराउन समस्या हुने गरेको छ । “चिकित्सकसहितको सेवा सञ्चालन गरिएपछि स्तरीय प्रयोगशालाको व्यवस्था हुनुपर्ने हो”, उनले भने, “प्रयोगशालामा पुरानै तरिकाले सेवा दिनुपरेको छ, एक जना ल्याब असिस्टेन्टको अभाव छ, क्वुटर काउन्टर र सेमी अटो एनलाजर मेसिनको आवश्यकता छ, माग गरेको धेरै भयो, उपलब्ध हुनसकेको छैन ।”

औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उनको भनाइ छ । रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको डिजिटल एक्सरे मेसिन सञ्चालनमा आउन सकेको छैन । एक्सरे मेसिनको सेटअप नमिल्दा सञ्चालनमा आउन नसकेको हो । “स्लाइडिङ टेबुलको अभावसँगै सेटअप मिलेको छैन, प्राविधिकले हेरेर गएका छन्, एक महिनाभित्रै सञ्चालन हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “केही दिनभित्रै सञ्चालनमा ल्याउँछौँ ।”

स्वास्थ्यचौकीलाई उपलब्ध हुने औषधि आपूर्ति भइरहेको उल्लेख गर्दै उनले चिकित्सकको सिफारिसअनुसारको औषधिका लागि नगरपालिकाले थप बजेटको व्यवस्था मिलाउनुपर्ने बताए । आर्थिकरूपमा विपन्न, ज्येष्ठ नागरिक, असहायलाई स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा निःशुल्क हुनुपर्ने स्थानीय बासिन्दाको माग छ ।