GBIME

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री

2.11K
shares

काठमाडौं, २६ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताईन ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको बताए । यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिव रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिए ।

पाइजाले भने, “यस वर्ष नयाँ विरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमले उत्पादन बढेकोले गतवर्षको भन्दा बढी आम्दानी हुने आशा गरेका छौं ।” एक किसानले रु ५० हजारदेखि रु दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तलाबजार पठाउन समूहले समन्वय गरेको थियो । कूल ५७ घरधुरीको यहाँ १५ हजार मध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको उनले बताए । सडक यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइको छ ।