परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा
वि.सं.२०७९ कात्तिक २७ आइतवार १५:३५
shares

काठमाडौैं, २७ कात्तिक । बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो ताल्चा बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८र१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका थिए ।
विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुरले एक्लै धानिरहेका छन । “पहिला त सबैका घरमा बगनासे साँचो हुन्थे, विदेशसम्म जान्थ्यो”, उनले भने, “बहुदल आएसँगै सबै सामान विदेशबाट आउन थाले हामीले बनाएका साँचो बिक्री हुन छाडे ।”
फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माको भनाइ छ ।
घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिकभन्दा केही ठूलो आकारको पनि हुन्छ ।
यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुआत गरेका थिए ।
पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको उनिहरुको भनाइ छ । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घट्न गएको टेकबहादुरको भनाइ छ ।














