Dhulikhel Eco Banner new

एशियन हाइड्रोपावरले मंसिर २७ गतेबाट आईपीओ जारी गर्दै

5.76K
shares

काठमाडौं, १८ मंसिर । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर रहेको छ ।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने ४ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ८४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरिरहेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले २०७८ कात्तिक १५ गतेदेखि व्यापारित उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ ।

आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.०९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.८३ वर्ष रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।