अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निभाउन महासंघको आग्रह
वि.सं.२०७९ मंसिर २० मंगलवार १२:५०
shares

काठमाडौं, २० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) संग आज छुट्टाछुट्टै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकोले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई साझ उनको निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विहान उनको निवास खुमलटारमा भेट गरेको थियो ।
सो अवसरमा शीर्ष नेताहरू समक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गर्योे । महासंघ यतिखेर अर्थतन्त्र जोगाऔं अभियानमा छ ।
शीर्षस्थ नेतृत्वसंगको भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरेका छन् । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

















