GBIME

हुस्सुका कारण उडान–अवतरण प्रभावित, बिहानको समयमा अधिकांश विमानस्थल बन्द

1.27K
shares

काठमाडौं, १९ पुस । पछिल्लो समय चिसो बढेसँगै हुस्सु र कुहीरोका कारण हवाई उडान प्रभावित भइरहेका छन् । पहाडी जिल्लामा बिहानपख र तराइका जिल्लामा दिउसोसम्म पनि हुस्सु र कुहिरो लाग्ने गरेकाले यी क्षेत्रमा हुने उडान प्रभावित हुदै आएका हुन् ।

करिब एक हप्तादेखि यस्तो अवस्था आइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मौसम परिवर्तनका कारण अधिकाशं विमान डिले हुने गरेको उनको भनाइ छ । काठमाडौंको विमानस्थलमा बिहानको समयमा उडान र अवतरण प्रभावित भए पनि तराइका जिल्लामा भने दिउसोसम्म नै उडान प्रभावित हुने गरेको प्रवक्ता सिटौलाले केटिएम भ्वाइसलाई बताए । हुस्सु र कुहिरोका कारण भिजिबिलिटी क्षमता घट्ने र यस्तो बेला उडान गर्न नसकिने हुन्छ ।

भिजिबिलिटी अर्थत दृश्य क्षमता कम भएको समयमा उडान वा अवतरण गर्दा दुर्घटनाको जोखिम धेरै हुने उनको भनाइ छ । विहानको समयमा उडान र अवतरण प्रभावित हुने र विस्तारै मौसम खुल्दै जाँदा सहज हुने गरेको पनि प्रवक्ता सिटौलाले जानकारी दिए । विहानको समयमा २ हजार भिजिबिलिटी रहेको त्रिभुवन विमानस्थलमा अहिले १ हजार ६०० मात्रै भिजिबिलिटी रहेको जनाइएको छ ।

पहाडका विमानस्थलहरु केही छिटो खुले पनि तराइका विमानस्थलमा भने अझै समस्या हुने गरेको बताइएको छ । बाँकेको नेपालगन्जमा रहेको विमानस्थलमा पनि दिउसोको समयमा मात्रै उडान हुने गरेको छ । विहानको समयमा हुस्सु लाग्ने कारणले उडान हुन नसकेको विमानस्थलका सुचना अधिकारी धिरेन्द्र रिजालले जानकारी दिए । कुनै दिन दिउसो र साँझ पनि हुस्सुका कारणले समस्या आउने गरेको उनको भनाइ छ । यति नै बेला खुल्छ भन्ने कुनै एकिन गर्न नसकिने उनको भनाइ छ । नेपालगन्ज विमानस्थलको भिजिबिलिटी निकै कम हरेको उनको भनाइ छ ।

यता प्रदेश नम्बर १ को राजधानी विराटनगमा रहेको विमानस्थलमा पनि उडान र अवतरण प्रभावित भइरहेको बताइएको छ । विहानको समयमा उडान र अवरतणमा समस्या हुने गरेको बताइएको छ । यो विमास्थलमा मध्यान्ह १२ बजेपछिमात्रै उडान र अवतरण हुने गरेको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार कुनै दिन त दिउसो पनि समस्या आउने गरेको छ । १ हजार ६०० भिजिबिलिटी आवश्यक पर्ने भए पनि अहिले १ हजार मात्रै भिजिबिलिटी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।