Mangaldeep Aagarbatti
GBIME

परिवार पाल्न कृषि मजदुरी गर्दै ८१ वर्षीय लगन महरा

4.42K
shares

जनकपुरधाम, २३ पुस । धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्ष पुगेका छन् । ज्यानले अशक्त उनी श्रीमती र परिवारको पेट पाल्न यो उमेरमा पनि कृषि मजदुरी गर्न बाध्य भएका छन् । श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश भएका हुन् ।

विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा बताउछन् । उनले भने, “घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ । भोको पेटले उमेर देख्दैन ।”

काम गरेबापत ज्यालामा साहुले आठ किलो धान दिने गरेको उनले बताए । त्यही धानबाट छाक टार्ने र औषधि उपचार गर्नुपर्छ । भत्किँदै गएको घर देखाउँदै महराले भने, “यो घरबाहेक हाम्रो अरू कुनै सम्पत्ति छैन ।”

साहु जगदीशले हरुवाचरुवा गर्ने र उब्जनी गरेर खाने सर्तमा पाँच कट्ठा जग्गा दिएको उनले बताए । त्यसबापत उनले आफ्नो काम पनि लगाउनुहुन्छ। साहुले भनेको काम जसरी पनि गर्नुपर्छ । उनले आफ्नो दुखेसो सुनाए ।

महराको छ धुर जग्गामा बनेको फुसको घर छ । घरको केही भागको छाना र बेरा च्यातिएको छ । चिसो र वर्षाको पानी छल्न प्लास्टिक ओछ्याएका छन् । उनी कान्छी श्रीमतीसँग बस्छन् । कान्छी र जेठीतर्फबाट गरी छ जना छोराछोरी छन् । सबैले विवाह गरिसकेका छन । “हामीलाई कसैले वास्ता गर्दैनन् । हामी बूढाबूढीलाई हेरचाह गर्ने कोही छैनन्”, महरा भन्छन् ।

सँगै बस्दै आएकी ७२ वर्षीया कान्छी श्रीमती महावती महरा १० वर्षदेखि अशक्त छिन् उनी हिड्डुल गर्न सक्दिनन् । उनकै उपचार गर्न महराले तीन वर्षअघि गाउँकै मिथिलेश साहसँग एक लाख रुपियाँ ऋण लिएका थिए । तमसुक बनाएर सयकडा तीनका दरले उनले ऋण लिएका हुन् । उनले भने, “ब्याज जोडेर त्यो पैसा धेरै भएकाले त्यही साहुकोमा काम गर्दैछु । ज्यालाको धानले खानु कि कर्जा तिर्नु ।”

गौरदाहा टोलकै ५० वर्षीय विन्देश्वर महरा पनि बँधुवा मजदुरका रूपमा काम गर्छन् । उनी पनि गाउँकै रामकुमार मण्डलकोमा पाँच वर्षदेखि काम गर्दै आएका छन् । साहुले उनलाई पनि हरुवाचरुवा गर्ने सर्तमा उब्जाउनका लागि पाँच कट्ठा जग्गा दिएका छन् । हरुवाचरुवा काम गरेबापत पाउने आठ किलो धानले नौ जनाको परिवार पाल्नुपर्ने विन्देश्वरको बाध्यता छ ।

विन्देश्वरको आर्थिक अवस्था पनि दयनीय छ । उनी सात धुर जग्गामा बनेको एउटा सानो घरमा श्रीमती, चार जना छोराबुहारी र तीन जना नाति नातिनीसहित बस्छन् । उनी भन्छन्, “आठ किलो धानले बाँच्न निकै समस्या छ ।”

गौरदाहा टोलमा ७० भन्दा बढी घरपरिवार हरूवाचरुवा छन् । उनीहरू सबैको अवस्था अत्यन्तै पीडादायी छ। आर्थिक अभावमा चरम शोषणमा परेका छन् । सरकारले पटकपटक हरुवाचरुवा, हलिया, कमलरी, कमैया मुक्तिसँगै पुनःस्थापना गर्ने घोषणा गरे पनि कार्यान्वयनमा नआउँदा धनुषामा हरुवाचरुवाका रूपमा थुप्रै घरपरिवार श्रम बन्धकी लगाउन बाध्य छन् ।

National life Banner