GBIME

भूमि आयोगका अधिकृतले १ करोड भन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको ठहर

1.16K
shares

काठमाडाैं, पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडाैंमा  कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलले स्रोत नखुलेको गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख रहेका  पोखरेलको आम्दानी भन्दा बढी खर्च र लगानी रहेको भन्दै आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

आयोगले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरेलले आफ्नो सेवा अवधिमा तीन करोड एकतीस लाख पचपन्न हजार बैसठ्ठी रूपैयाँ उन्नाइस पैसा आर्य आर्जन गरेका जानकारी दिएको छ । तर सोही अवधिमा उनले चार करोड सैँतिस लाख अठासी हजार चार सय दुई रूपैंया दश पैसा खर्च तथा लगानी गरेको देखिएको हो ।

आयोगले एक करोड छ लाख तेत्तीस हजार तीन सय उनन्चालीस रूपैंया बयानब्बे पैसा बराबरको श्रोत नखुलेको सम्पत्ति पोखरेलकी श्रीमती विमला न्यौपाने पोखरेलको नाममा रहेका सम्पत्तिबाट जफत गर्ने माग गर्दै  विशेष अदालतमा मागवादीसमेत गरेको छ ।

पोखरेलले सार्वजनिक सेवाको पदमा रहेर श्रीमती नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात रहेको देखिएको हो ।