Dhulikhel Eco Banner new

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

6.86K
shares

काठमाडौं, १२ माघ । स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण थिए । केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए ।

अब उनी चाँडै सुन्तला बिक्री गर्ने तयारीमा रहेका छन् । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ”, उनले भने ।

पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला रु आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गर्नुभयो । सुन्तला कुहिएको पाएपछि उहाँ सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् । “मूल्य बढी पाइने आहले भण्डारण गरे, उल्टै घाटा लाग्ने अवस्था आयो”, केसीले भने । उनले भण्डारण गरेकोे सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो रु ६५ का दरले बिक्री गरे ।

“मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो” उनले भने, “यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।” बर्सेनि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनी बताउछन् ।

यसको सही व्यवस्थापन हुन नसकेमा आगामी दिनमा किसानले यहाँ सुन्तला, आलुलगायतका कृषिउपज भण्डारण नगर्ने र राज्यको ठूलो लगानी खेर जानसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने उहाँको जोड छ ।

किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ ।