Dhulikhel Eco Banner new

मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री यादवले गरे पदभार ग्रहण

5.02K
shares

काठमाडाैं, १५ माघ । मधेश प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेका मन्त्री यादवले आइतबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजश्वलाई बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौती गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए ।

यसअघि नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले शुक्रबार नै पदभार ग्रहण गरिसकेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोज कुमार यादवले पुस २९ गते विनाविभागीय मन्त्रीहरूसँगै शपथ लिएका थिए ।

मुख्यमन्त्री यादवले माघ १२ गते विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मुख्यमन्त्री यादवले प्रदेशका बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेश प्रदेशको सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति जुट्न नसक्दा सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री यादवले सम्भवतः सोमबार मन्त्रिपरिषद विस्तार गर्ने स्रोतले जनाएको छ ।