Dhulikhel Eco Banner new

पानी सपनाः “साहुनी !! उ त्यो हरियो वोतलको पानी दिनु त…”

1.85K
shares

“ओहो दिदी !! हजुरले पनि हरियो बोटलकै पानी लिनु भएछ है !!” “हो नि बहिनी, उसलाई नेपाली सेनाको हरियो बोटलको पानी नै चाहिन्छ भन्छ, अरु हुदै हुन्न भनेर जहिले जिद्दी गर्छ”। हस्पिटल रोड वुटवलमा रहेको कालिका स्कुलको गेटमा बच्चालाई दिवा खाजा पुर्याउन गएका सिता र सबिता विच संवाद चल्दै थियो । सबिता भन्दैछिन, “नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरीले पानी उत्पादन गरेर बजारमा बिक्रि गर्न थालेपछि एकदम आनन्द भएको छ । गुणस्तरमा पनि ढुक्क अनि सस्तो पनि । म त आजकल धाराको पानी भन्दा पनि जारकै पानीले नुहाउछु, जम्मा दश रुपैया त हो “।

नारायणघाटमा अटो रिक्सा चलाउने आईते दाईको कपाल टलक्क टल्किएको देखेर, उनका साथी चुसे कुमाल भन्दैछन, “हैन दाई आज त प्रहरीको पानीले नै नुहाउनु भयो कि के हो ?” आईते दाई भन्छन, “हो नि भाई म त आजकल नेपाल प्रहरीको जारकै पानीले नुहाउछु । १० रुपैयामा १ जार आईहाल्छ, के को धाराको पानीले नुहाउनु सफा पनि सस्तो पनि” ।

जन्मथलो बैतडी भएका भक्तराज भट्ट छिमेकका कोमलदाईले हिउदे तरकारीमा जारको पानी खन्याउदै गरेको देखेर आश्चर्य मान्दै सोध्छन्, “दाई खानेपानी नै पो हाल्दिनुभएको सागमा ?” “हो नि बाबु, आजकल त म सधै करेसावारीको तरकारीमा जारकै पानी हाल्छु” भन्दै कोमल खत्री अगाडी थप्छन्, “भक्तबाबु शसस्त्रले दुई जार पानीको रु १८ मा दिन्छ, पानी फालाफाल । मैले त आजकल करेसावारीमा मात्रै होईन, नुहाउन समेत जारकै पानी प्रयोग गर्ने गरेको छु”।

पोहोरसाल सल्यानटारको हरियाली फांटमा, एउटै काउली ७ किलोको फलाएर वागमती अञ्चलकै “उत्कृष्ट किसानको” पुरस्कार जितेका सन्तोष वुर्लाकोटीले, ढपक्कै फुलेको बैजनी रंगको काउली खेतीमा हरियो रंगको जारको पानी खन्याएको देखेर छिमेकमा रहेका भिम बहादुर कुमाल दंग पर्दै सोध्छन, “हैन दाई जारकै पानी पो हाल्नु भो त !!” वुर्लाकोटी हास्दै भन्नुहुन्छ, “यो पानी सस्तो पनि, ढुक्क पनि, त्यसैले मैले त तरकारी खेतीमा पनि जारकै पानी प्रयोग गर्ने गरेको छु” ।

कमलादी गणेश मन्दिरको दर्शन गर्न आएका भक्तपुरका सुरेन्द्र रंजित, मन्दिर छेउमा रहेको चिया पसलमा चट्ट मिलाएर राखिएको हरियो बोतल, निलो वोतल र खैरो वोतलको पानी देखाउदै भन्छन, “साहुनी मलाई खैरो वोतलको पानी दिनुन” । यत्तिकैमा मन्दिरका पुजारी मंगल महर्जन दुई जार पानी लिएर मुल मन्दिर सफा गर्न फुत्त भित्र पसेको देखेर रन्जित भन्दैछन, “वाह !! देशका सेना शसष्त्र र प्रहरीले पानी उत्पादन गर्न थालेपछी त पानी सफा पनि सस्तो पनि”।

विसं २०८२ सम्म नेपालमा खाने पानीको निक्कै हाहाकार हुन्थ्यो । तर अहिले अवस्था सुध्रिएको छ । देशका ठुला पानी उद्योगले सिधै पानी विदेश निर्यात गर्ने गरेका छन । हाल देशमा सञ्चालनमा रहेका दश ठूला खानेपानी उद्योग मध्ये उच्चमात्रामा सुन र म्याग्नेसियम पाइने काली गण्डकीको पानी जापान सरकारले लाने गरेको छ । क्याल्सियम र कप्परको मात्रा धेरै पाईने कोशीको पानी वेलायत निर्यात हुन्छ भने, पोटासियम र आईरनको मात्रा धेरै भएको कर्णालीको पानी अरब राष्ट्र निर्यात हुने गरेको छ । जापानले सिधै पोखराको माछापुच्छ्रे अन्तर्राष्ट्रिय विमानस्थलबाट पानी लिएर जान्छ भने, अमेरिका, युरोप र अरव राष्ट्रले मालवाहक रेल मार्फत बंगालको खाडी हुँदै जहाजमार्फत पिउने पानी लाने गरेका छन्।

सन २०२५ को जेन्जी आन्दोलन पछी बनेको सरकारले “देशका लागी पानी” भन्ने मुल नाराका साथ खानेपानीको उत्पादनमा लगानी गर्न थालेपछी गज्जव भएको छ, देशैभरी रु दुईमा (१.५ लिटर) वोतलको पानी, पन्ध्र रुपैयामा दुई जार पानी (५० लिटर) किन्न पाईन्छ । यसका लागी नेपाली सेनाले आफ्ना ५००० वलसहितको अरु थप दश हजार कामदार लिएर धादिङको सल्यानटारमा विशाल पानी उत्पादन केन्द्र खोलेको छ । उसले हरियो रंगको वोतल र जार प्रयोग गर्दछ । यस्तै नेपाल प्रहरीले पांचहजार आफ्नो वल सहित दशहजार कामदार लिएर स्याङजाको चापाकोट र पाल्पाको रामपुरमा विशाल पानी उत्पादन कारखाना खोलेको छ, उसले निलो रंगको वोतल र जार प्रयोग गर्दछ । त्यस्तै शसस्त्रले पांच हजार आफ्नो वलसहितको थप दशहजार कामदार लिएर भेरीको किनार मेहेलकुना बजार र अछामको साफेवगरमा विशाल पानी कारखाना खोलेका छन । उसले खैरो रंगको वोतल र जार प्रयोग गर्दछ । यसरी दैनिक लाखौ लिटर शुद्द पिउने पानी सेना शसष्त्र प्रहरीले छुट्टाछुट्टै उत्पादन गरिरहेका छन ।

अहिले समय वदलिएको छ । हाम्रा सेना, प्रहरी र शसस्त्र तिनै निकाय देशको उत्पादन पानीको व्यापार गर्दैछन, विगत कयौ वर्षदेखि सात समुन्द्र पारीको तेल बेच्ने यि निकायहरु अहिले खुशी देखिन्छन, आफ्नै उत्पादन “पानीसंग” । “…उद्योगे नास्ती दरिद्रम…” उद्योगले गरिबी घटाउछ भने झै, यसरी देशभरी पानीका सयौ उद्योग सरकारले नै संचालन गरेको छ । आफ्नै प्राकृतिक सम्पत्ती उत्पादन र वितरणमा लाग्नु भनेको, असल राज्यका लागी गौरवको कुरा पनि हो ।

यस्तो राम्रो सपना देखिदै थियो, हिजै नाम टिपाएकोले होला, विहानै पानी ट्याङंकरले गेटमै आएर हर्न बजाए पछी, झल्यास्स व्यूझिए । पुनः सपना सम्झिए, खुशीलाग्यो र मनमनै सोचे “साच्चै सरकारले पानीका लागी यस्तै कदम चालिदिए हुन्थ्यो भन्ने लाग्यो” । जय पशुपतीनाथ ।
(विकासलाई साहित्यसँग जोड्न रुचाउने लेखक ईश्वर अर्याल त्रिवि भूगोल केन्द्रिय विभागमा पिएचडी अध्ययरत हुनुहुन्छ )