धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि चार जना सर्टलिस्टमा
वि.सं.२०८३ जेठ ५ मंगलवार १७:१७
shares

काठमाडौं, ५ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि गठित अध्यक्ष छनोट सिफारिस समितिले ४७ जना आवेदकमध्ये चार जनाको नाम सर्टलिस्टमा गरेको छ।
समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण (बायोडाटा) माग गरेको थियो । तोकिएको समयभित्र प्राप्त ४७ वटा आवेदनको मूल्याङ्कनपछि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई अन्तिम चारको सूचीमा समावेश गरिएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारमध्ये डा। गोपाल प्रसाद भट्ट र मुकुन्द कुमार क्षेत्री नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने डा. नवराज अधिकारी र विनयदेव आचार्य नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक रहेका छन्।
समितिले सर्टलिस्टमा परेका चारै जनालाई आगामी शुक्रबार, २०८३ वैशाख ८ गते अर्थ मन्त्रालयमा छलफल तथा अन्तर्वार्ताका लागि बोलाएको जनाएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको अवस्थामा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएकाले पूँजी बजार क्षेत्रले यसलाई चासोका साथ हेरेको छ।
















