फागुन ८ गतेबाट आईपीओ जारी गर्दै दोल्ती पावर कम्पनी
वि.सं.२०७९ माघ २९ आइतवार ११:१५
shares

काठमाडौं, २९ माघ । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २६.९५ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

















