फागुन महिनासम्म १० खर्बको आयात, राजश्व संकलन साडे २ खर्ब मात्रै
वि.सं.२०७९ चैत १ बुधवार १४:४६
shares

काठमाडौं, १ चैत । भन्सार विभागले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । विभागले फागुन मसान्तसम्म २ खर्ब ५० अर्ब ६४ करोड राजश्व संकलन गरेको हो । यो लक्ष्यको ५७.९ प्रतिशत मात्रै हो ।
फागुन मसान्तसम्म विभागले ९ खर्ब ९० अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो । विभागले फागुन मसान्तसम्म संकलन गरेको राजश्व गत वर्षको सोही अवधिको भन्दा २५ प्रतिशतले कम हो । गत वर्षको फागुन मसान्तसम्म विभागले ३ खर्ब ३३ अर्ब रुपैयाँको राजश्व संकलन गरेको थियो ।
गत वर्षकोभन्दा आयतमा कमी आएका कारण राजश्व संकलनमा गिरावट आएको भन्सार विभागका प्रवक्ता पुण्य बिक्रम खड्काले जानकारी दिए । उनका अनुसार गत वर्षको फागुन मसान्तसम्म १३ खर्ब ८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो भने चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँको सामान आयात भएको छ ।
धेरै राजश्व संकलन हुने वस्तुको आयातमा प्रतिबन्ध लागेकाले राजश्व संकलनमा कमी आएको प्रवक्ता खड्काले बताए । ‘मदिरा, सवारी लागतयका वस्तुको आयातमा प्रतिबन्ध लागेको प्रभाव राजश्वमा देखिएको हो । पुस महिनाबाट आयातमा प्रतिबन्ध खुलेको भए पनि त्यसपछि प्रतिपत्र (एलसी) खोलेर सामान ल्याउनका लागि पनि समय लाग्ने भएकाले अहिले राजश्वमा त्यसको प्रभाव परेको हो,’ उलने भने ।
विभाग फागुन महिनाको लक्ष्यमा पनि पुग्न सकेन् । फागुन महिनामा ५९ अर्ब ३ करोड राजश्व संकलनको लक्ष्य लिएको विभागले ३१ अर्ब ८१ करोड मात्रै संकलन गरेको छ । जुन लक्ष्यको ५४ प्रतिशत हुन आउँछ ।
सररकाले विदेशबाट आयात हुने वस्तु माथिको प्रतिबन्ध पुस महिनामा फुकुवा गरेकाले यसको परिणाम चैत महिनामा मात्रै देखिने पनि प्रवक्ता खड्काको भनाइ छ । ‘पुसदेखि आयात प्रतिबन्ध खुलेको भए पनि माघदेखि मात्रै प्रतिपत्र (एलसी) खोल्दा नगद मार्जिन हटाएकाले यसको प्रभाव अहिले नदेखिएको हो,’ उनले भने ।
भन्सार विभागले चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा विभागले गत वर्षकोभन्दा ३२ प्रतिशत बढी राजश्व संकलनको लक्ष्य दिइएको छ ।
फागुन मसान्तसम्म आयातमा पनि गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १० खर्ब ५७ अर्ब रुपैयाँका सामग्री आयात भएको छ । यो अघिल्लो वर्षको भन्दा १९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १३ खर्ब ८ खर्ब रुपैयाँको सामग्री आयात भएको विभागका प्रवक्ता खड्काले जानकारी दिए ।

















