Dhulikhel Eco Banner new

सरकार विरुद्धको आन्दोलन जारी छ : उमेशलाल श्रेष्ठ

5.69K
shares

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षको प्रत्यासी रहेका उमेशलाल श्रेष्ठले सरकार विरुद्धको आन्दोलन जारी रहेको बताएका छन् । सोमबार पोखरामा भएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै पूर्व उपाध्यष समेत रहेका श्रेष्ठले व्यवसायीका माग सम्बोधन गर्ने तर्फ सरकारले ध्यान नदिएको भन्दै आन्दोलन जारी रहेको बताएका हुन् ।

‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ उनले भने, ‘अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौँ कि आफ्ना माग सुनवाई गर्न पनि सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।’ अहिले सरकारले व्यवसायीका माग सुनुवाई नगरेकै कारण समस्या झन जटिल बन्दै गएको उनको भनाइ थियो ।

अहिलेको समस्या समाधान गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकको मध्यस्तता हुनुपर्ने उनले बताए । यस्तै पछिल्लो समय उद्योगी व्यवसायीको ब्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको उनको भनाइ थियो । ‘अहिले दैनिक रुपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्ते सहित सूचना प्रकाशित हुने काम गरेको छ । अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरण गर्नुपर्छ,’ उनले भने ।

राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण अहिले उद्योगी व्यवसायी उच्च व्याजदरको चपेटामा परेको उनको आरोप थियो । ‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गर्दा हामी मारमा परेका छौँ । अब हामीले सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ ।’

यस्तै आर्थिक संकटका कारण उद्योगी व्यवसायीले बजारमा दिएको उधारो नउठेको तर सरकारलाई भने उदारोमा गएको सामानको पनि कर तिर्नु परिरहेको उनको गुनासो थियो । यो अवस्थामा व्यवसायीलाई जोगाउनका लागि सरकारले पहल गर्नु पर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले अहिले नेपाल उद्योग वाणिज्य महासंघको खास गिर्दै गएको भन्दै त्यसलाई जोगाउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । महासंघले जनआन्दोलनका वेला होस वा अन्य थुप्रै समयमा ठुला ठुला आन्दोलन र सरकारसँग वार्ता गरि व्यवसायीक हकहितमा काम गरेको जानकारी दिँदै आगामी दिनमा सोही अनुरुप महासंघको साख पुनर्जागृत गर्न आफुले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । साना उद्योगबाट अघि बढेको र व्यवसायीका समस्याका विषयमा जानकार रहेकाले व्यवसायीका हकहितमा काम गर्नका लागि आफूले वरिष्ठ उपाध्यक्षमा दाबी गरेको उनको भनाइ थियो ।