Dhulikhel Eco Banner new

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्न आह्वान

14.69K
shares

काठमाडौं, १६ चैत । स्टार्टअप उद्याम कर्जाका लागि सरकारले प्रस्ताव पेश गर्न आह्वान गरेको छ । स्टार्टअप कर्जाका लागि उद्योग विभागले बिहीबार कर्जा लिनका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

सरकाले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि,२०७९’ जारी गर्दै बढीमा २५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा लिने बाटो खुलाएको थियो । यसै कार्यविधि अनुसार विभागले कर्जा लिनका लागि प्रस्ताव पेस गर्नका लागि २१ दिने सूचना जारी गरेको छ ।

विभिन्न मापदण्ड तोक्दै सरकारले स्टार्टअपहरुका लागि बिना धितोमा ३ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने गरि कार्यविधि कार्यान्वयनमा ल्याएको छ । मापदण्ड पूरा गरेको व्यवसाय वा उद्यमहरु यस्तो कर्जा सुविधा लिन योग्य हुने कार्यविधिमा जनाइएको छ ।

यो कर्जा प्राप्त गर्नका लागि सरकारले तोकेको मापदण्ड पुरा गर्नु पर्ने छ । अन्यथा यो कर्जा उपलब्ध हुने छैन् । उद्यम वा व्यवसाय स्थापना वा सञ्चालन भएको ७ वर्ष ननाघेका व्यवसायहरुले विभिन्न मापदण्ड पूरा गरेर कर्जा सुविधा लिन पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

सहुलियत कर्जा सुविधा लिनका लागि स्टार्टअप व्यवसाय वा उद्यमको चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी नभएको, उद्यमको कूल आय वार्षिक ५० लाखभन्दा बढी नभएको, स्थीर पुँजी (घर जग्गाको मूल्य बाहेक) २ करोड रुपैयाँभन्दा बढी नभएको र उद्यममा पूर्णकालीन कामदारको संख्या १० जनाभन्दा बढी नभएकोमध्ये न्यूनतम तीन मापदण्ड पूरा भएको हुनु पर्ने छ ।

यसका साथै कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न सूचना प्रविधिको उपयोग तथा सृजनाशिल सोचको प्रयोग कार्य भएको, उद्यमले वार्षिक रुपमा गर्ने कूल खर्चको कम्तीमा ५ प्रतिशत अंश उत्पादन विकास, बजार विकास तथा अनुसन्धान र विकसामा खर्च गर्ने गरेको र उद्यमको बौद्धिक सम्पत्तिको पेटेन्ट वा डिजाइन वा सफ्टवेयर दर्ता भएको वा पेटेन्व वा डिजाइन वा सफ्टवेयर दर्ता गर्न योग्य रहेको मध्ये न्यूनतम दुई गरि कम्तिमा पाँच मापदण्ड पूरा गर्ने व्यवसायहरुले यो कर्जा सुविधा लिन पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

तर, नेपालको कानुन बमोजिम नेपालमा दर्ता नभएको, सूचना प्रविधि तथा नविनतम सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशबाट आयात गर्ने, विद्यमान कम्पनी वा व्यवसायलाई टुक्राएर बनाइएको वा सहायक कम्पनी वा फर्मको रुपमा काम गर्ने, कर्जा सूचना कन्द्रमा कालोसूचीमा परेको वा तयस्तो व्यक्तिबाट सञ्चालन भएको, कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको, होल्डिङ्ग कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गीकरणमा पर्ने उद्यम वा प्रचलित कानुनले प्रतिबन्ध लगाएका अन्य विषयमा सञ्चालन रहेका उद्यम वा व्यवसायलाई भने स्टार्टअप उद्यम नमानिने र यस्ता व्यवसाय वा उद्यमले कर्जा लिन नपाउने कार्यविधिमा उल्लेख गरिएको छ ।