Dhulikhel Eco Banner new

नेपाली रुपैयाँ इतिहासकै कमजोर, अर्थतन्त्रलाई कस्तो असर गर्छ ?

9.85K
shares

काठमाडौं, ४ जेठ । अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको हो । राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर साट्नका लागि १२४.४१ पैसा पर्ने भएको छ ।

यसअघि गत बैशाख २७ गते डलरको भाउ हालसम्मकै उच्च १२४ रुपैयाँ २५ पैसा कायम भएको थियो । बुधबार कायम भएको डलरको मूल्य अहिलेसम्मकै बढी हो । पछिल्लो समय रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपालको स्थिर विनिमय भएका कारण पनि भारु कमजोर हुँदा नेपाली रुपैयाँमा समेत प्रभाव पर्ने गरेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो केहि दिन यता डलरको मूल्यमा लगातार बृद्धि भइरहेको छ । डलरको भाउमा भएको बृद्धिले नेपालले आयाग गर्नु पर्ने वस्तुको मूल्यमा पनि बृद्धि हुने देखिएको छ । नेपालले आयात गर्ने बस्तुको भुक्तानी डलरमा गर्नु पर्ने भएकाले आयातीत वस्तुको भाउमा पनि बृद्धि हुने निश्चित नै छ । डलरको भाउमा भएको बृद्धिले विदेशी मूलुकसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।

डलरको मूल्यमा वृद्धि हुँदा निर्यात मुखी अर्थतन्त्र भएको देशहरुलाई मात्रै फाइदा पुग्ने भएकाले नेपाल जस्तो आयात मुखी अर्थतन्त्र भएको मुलुकलाई नकारात्मक असर गर्ने अर्थविद डा. चन्द्रमणी अधिकारीले बताएका छन् । नेपालले सबै बस्तुहरु तथा सेवा आयात गर्नु पर्ने भएकाले अर्थतन्त्रलाई नोक्सान गर्ने उनले बताए । ‘नेपालले इन्धन, खाद्यान्न लागयतका बस्तुहरु आयात गर्छ साथै कच्चा पदार्थहरु समेत नेपालले आयात गर्नु पर्ने भएकाले जनजीवन प्रभावित हुन्छ,’ उनले भने ।

विदेशबाट आउने रेमिट्यान्स बृद्धि हुने भए पनि त्यो आयात गर्नु पर्दा विदेश नै जाने भएकाले अर्थतन्त्रलाई असर गर्ने उनको भनाई छ । साथै नेपालले तिर्नु पर्ने ऋणको साँवा ब्याज समेत डलरमा तिर्नु पर्दा पनि अर्थतन्त्रलाई नोक्सान हुने उनले बताए ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई फाइदा हुन्छ । नेपाललाई रेमिट्यान्स र निर्यातमा केही फइदा भएपनि समग्र क्षेत्रमा भने यसले समस्या हुने देखिन्छ । पर्यटक समेत नेपालमा उल्लेख्य मात्रामा नआउने र निकासी समेत कम मात्रै हुने भएकाले नेपालको अर्थतन्त्रलाई क्षति हुने अर्थविद डा.अधिकारीको भनाई छ ।