एनएचसीएल मार्फत थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
वि.सं.२०७९ जेठ ५ बिहीवार १८:०१
shares

काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (connectRTGS) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको connect RTGS को प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।
मितेरी डेभलपमेन्ट बैंक लि, नेपाल फाइनान्स लि, समृद्धि फाइनान्स लि। तथा श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स कं लि। हालै उक्त प्रणालीमा थपिएका छन् । यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा RTGS प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक÷वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित connectRTGS मार्फत सो प्रणालीमा जोडिएका हुन् ।
आरटीजीएस प्रणाली मार्फत् रु २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणाली मार्फत ने.रु.४३.४ खर्ब बराबरको ६५,३७६ भुक्तानी कारोबारहरु फर्छ्यौट भइसकेको छ ।

















