Dhulikhel Eco Banner new

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेका अर्थमन्त्रीको दावीदेखि प्रचण्डलाई पत्नीशोकसम्म

3.76K
shares

काठमाडौं, २८ असार । कारोबारको चौथो दिन शेयर बजारमा सुधार आएको छ । आज शेयर बजारमा २५ अंकको सुधार आएको छ । आज २५ दशमलव ३१ अंकले सुधार आएर शेयर बजार परिसूचक २०९७ दशमलव ५५ विन्दुमा पुगेको छ । बुधबार २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव २८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९२ दशमलव १५ विन्दुमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेका अर्थमन्त्रीको दावी

अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौंमा आज आयोजना गरेको‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।

उनले बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ । त्यस्तै उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने बताए ।अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएकामा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने तथा सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनले उल्लेख गरे । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकामा बिस्तारै त्यो सहज हुँदै गएको अर्थमन्त्री महतको दाबी छ ।

तीन सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीमा पनि ५ रुपैयाँको वृद्धि
नेपाली बजारमा आज बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

मानव संशाधन विकास छात्रवृत्तिका लागि जापान सरकारले ४२ करोड बढी सहयोग उपलब्ध गराउने

 मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना कार्यान्वयनको लागि नेपाल सरकारलाई ४२ करोड ४० लाख अनुदान सहयोग उपलब्ध गराउन जापान सरकार सहमत भएको छ ।

आज अर्थमन्त्रालयमा अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानका राजदूत एच.ई. किकुता युताकाले आ–आफ्नो सरकारको तर्फबाट सहमति पत्रमा हस्ताक्षर आदानप्रदान गरेका छन् । यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि लिजुका केनिचिरोले पनि हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा अर्थसचिव पोखरेलले यो छात्रवृत्ति नेपाली निजामती सेवामा दक्ष जनशक्तिको पोखरी विकास गर्न महत्वपूर्ण हुने बताएका छन् । उनले विद्वानहरूले शैक्षिक उपाधि मात्र हासिल गर्न नभई जापानको विकास, सांस्कृतिक र सामाजिक पक्षको उन्नत स्तरको पनि जानकारी लिन सक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, सीता दाहालको नर्भिक अस्पतालमा निधन
प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नी शोक परेको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दाहालको बुधबार विहान ८ः३३ मा निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीका लागि दाहालको शवलाई ११ बजे पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्यघाटमा लगेर अन्त्यष्टि गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।