सुनको मूल्य बढेदेखि बुढिगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घघाटनसम्म
वि.सं.२०८० साउन ४ बिहीवार ०६:००
shares

काठमाडौं, ४ साउन । साताको कारोबारको चौथो दिन आज शेयर बजारमा ११ अंकको सुधार आएको छ । आज ११ दशमलव १७ अंकले सुधार आएर शेयर बजार परिसूचक २१६५ दशमलव २४ विन्दुमा पुगेको छ ।
बुधबार २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ६९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ३३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१० दशमलव ४६ विन्दुमा पुगेको छ ।
बढ्यो सुनको भाउ, चाँदीमा पनिन १० रुपैयाको वृद्धि
आज सुन तोलामा ६०० रुपैयाँले बढेर छ । ६ सयले बढेको छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आज १० रुपैयाले बढेको चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको थियो ।
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री महतको आह्वान
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए ।
नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले उल्लेख गरे । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न उनले लगानीकर्तालाई अनुरोध गरे ।
प्रधानमन्त्रीद्वारा बुढिगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घघाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बुढिगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् ।
यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए ।
कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ ।
जनकनन्दिनीका पूर्व वडाध्यक्ष यादवलाई पक्राउ पूर्जी जारी
धनुषाको जनकनन्दिनी गाउँपालिकाका एक पूर्व वडाध्यक्षलाई पक्राउ पूर्जी जारी गरिएको छ । जनकनन्दिनी गाउँपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष विक्रम यादवमाथि पक्राउ पूर्जी जारी गरिएको हो । बिगो मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला अदालत धनुषाको बिगो मुद्दामा असार २२ गते काटिएको पत्र अनुसार यादवलाई २ बर्ष कैदमा राख्नुपर्ने फैसला भएकोमा उनी फरार रहेका छन् । ईलाका प्रहरी कार्यालय खजुरीलाई पत्र पठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी दिएको हो ।
विभिन्न व्यक्तिहरुबाट जग्गाको लागि रकम उठाएको र जग्गा नदिएको भन्दै उनीमाथि बिगोको मुद्दा दायर भएको थियो । स्थानीय एक जनाले दिएको मुद्दामा उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । यादव दोषी ठहर भई उनलाई दुई बर्ष कैद फैसला गरिएकोमा उनी अदालतमा हाजिर भएका छैनन् ।

















