Dhulikhel Eco Banner new

गृहमन्त्रीज्यू ! माफी माग्नुहोस् कि राजीनामा दिनोस्

75.74K
shares

नेकपा एमालेका कार्यकर्ताहरु अहिले निकै आक्रामक छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका सूर्य बहादुर थापाले त सार्वजनिक रुपमै उपप्रधान तथा गृहमन्त्रीको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीले पदमा बस्ने हैसियत नै गुमाएको बताएका छन् । यथार्थमा भन्नुपर्दा मलाई पनि यस्तै लागेको छ । हो, यस्तै बेलामा हो गृहमन्त्रीको राजीनामा माग्ने ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठ गृहमन्त्री हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । भौतिक मन्त्रालयमा लामो समय काम गर्न पाएनन् । भौतिक मन्त्री हुँदा पनि कहिले यातायात कार्यालय पुगेर विचौलियाहरुलाई खेदाउने र कहिले सेवाग्राहीहरुले दुःख पाएको देखेर कर्मचारीहरुलाई अनावश्यक रुपमा घुस नखान र काम गर्न निर्देशन दिए ।

परिस्थितिले गृहमन्त्रालय खाली भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले उनै श्रेष्ठलाई फेरि गृह मन्त्रालयको चावी सुम्पिए । भौतिकमा हुँदा थोर बहुत मात्रै तनाव थियो । किनकी त्यहाँ हुँदा उनले विचौलियाहरुलाई ठेगान लगाउने दुस्प्रयास मात्रै गरेका थिए । राजीनामा नै दिनु पर्ने काम त श्रेष्ठले गृह मन्त्री भएर आएपछि गर्न थाले । उनले सुरुमै गैर कानूनी तरिकाले सेटिङका आधारमा लगाइएको ठेक्का तोडिदिए । यसले केही ठूला विचौलियालाई तनाबै भयो । यस्तो काम पनि गृहमन्त्रीले गर्न हुन्छ ?

त्यतिमात्रै हो र ! यस अघिका गृहमन्त्री र गृहसचिवले सुराकी भत्ताको रुपमा करोडौ रकम पचाउने गरेका थिए । गृहमन्त्रीको राजीनामा त त्यतिबेलै माग्नु पर्ने थियो, जतिबेला उनले सुराकी भत्ताका नाममा पचाइने रकम राज्य कोषमा जम्मा गराउने निर्णय गरे । सुराकी भत्ता भनेपछि अर्बौ रकम भएपनि कहाँ ? कसलाई दिएको उल्लेख नै नगरी खर्लप्पै पचाउन सकिन्थ्यो । तर, यि गृहमन्त्रीले त त्यो पनि खारेज नै गरिदिए । २०÷५० करोड राज्यलाई फाइदा हुने निर्णय गरेर त्यहाँ पनि गृहमन्त्रीले ठूलो बद्मासी नै गरेका हुन् । यस्तो बद्मासीका फेरिहस्त भनिसाध्य छैन । कति हो कति ।

जमाना रक्सी अनि मासुको छ । तर, नाराणकाजी न जाँड खान्छन् न रक्सी मासु । जमाना घुसको छ । उनी खुलेआम घुस खानेलाई ठिक पार्छु मात्रै भन्दैनन्, पाता कस्न अघि सरि हाल्छन् । यस्तो जमानामा पनि घुस खानेलाई ठिक पार्ने कस्तो गृहमन्त्री ? लाजसरम नभएको । न भड्किलो जीवन शैली छ, न त पैसा कमाएर सम्पत्ति जोड्ने अभिलाशा नै । भएको श्रीसम्पति राज्य र पार्टीलाई दिन्छु भनेका छन् । अनि किन बन्ने गृहमन्त्री ? उहिल्यै राजीनामा दिनु पर्ने होइन र !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुन समातियो । जफत भएको सुनबाट मात्रै अर्बौ रकम सरकारलाई प्राप्त भएको छ । सुन तस्करीमा संलग्न केही पक्राउ परे । केही पक्राउ गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ । यतिको ठूलो परिमाणमा ल्याएको सुन पक्राउ गरेर सरकारले गर्न खोजेको के हो ?

आउनुस्, सबैले सरकार र गृहमन्त्रीको खुलेर आलोचना गरौं । ललिता निवास काण्ठमा ठूला माछा समात्नेदेखि गृहमन्त्री भइसकेका अपराधिलाई समेत जेल कोच्ने काम यो सरकार र सरकारमा रहेका गृहमन्त्रीले गरेका छन् । के यिनलाई हामीले गृहमन्त्रीको कुर्सीमा अपराधी थुन्न पठाएको हो ? चुप लागेर आफूले पनि सेटिङमा काम गरेको भए यिनको ‘बा’ को के बिग्रिन्थ्यो ।

अहिले सुन तस्करहरुको निद हराम भएको छ । भ्रष्टाचारीहरु थर–थर काप्न थालेका छन् । के गृहमन्त्रीले यस्तो वातावरण बनाउन हुनथ्यो ? गृहमन्त्रीले अपराधीलाई सरंंक्षण गरेर जनताको सेवा किन गरेको ? यी सबै आरोपहरु एकमुष्ट रुपमा लगाउँदै आउनुस्, हामी अहिलेको सरकार र गृहमन्त्रीलाई गाली गरौ । सत्तोसराप गरौँ । राजीनामा मागाैँ । मिल्छ भने देश छाड नै भनौँ न । जनताको पक्षमा काम गर्न पनि पाइन्छ त यसरी ?

हाम्रो स्वभाव नै यस्तै छ । हामी राम्रो काम गरेको देख्नै सक्दैनौं । राम्रो कामलाई राम्रो भन्न सक्ने हिम्मत हाम्रो छैन । किनकी, मन नपरेको मान्छे वा पार्टीका मान्छेले गरेको जतिसुकै राम्रो काम भए पनि हामीले गाली गर्नुपर्छ । आफ्ना मान्छेको ‘गुद्वारालाई स्वर्गद्वार’ देख्नुपर्छ । अवैध सुन समातेको भन्दै शुक्रबार साझ मात्रै एमाले निकट युवाहरुले राँके जुलुस निकालेका छन् । अब यसको पनि हामीले समर्थन गर्दै जनतको पक्षमा किन काम गरेको भन्दै गृहमन्त्रीलाई प्रश्न सोध्नुपर्छ । त्यसैले गृहमन्त्री ज्यू ! जनताको पक्षमा काम गरेको कारण गल्ती भयो भन्दै एमाले र तिनका कार्यकर्तासँग माफी माग्नुस्, नत्र राजीनामा दिनुस् ।

म त भन्छु, आउनुस् एक पटक सबैले यो नारा पनि लगाऔँ
सुन समाउन पाइदैन
पाइदैन, पाइदैन ।
अवैध सुन फिर्ता गर
फिर्ता गर, फिर्ता गर ।
भ्रष्टाचारी र अपराधीलाई जेल कोच्ने काम बन्द गर
बन्द गर, बन्द गर ।