Dhulikhel Eco Banner new

उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि विश्वविद्यालयसँग सहकार्य बढाइने : अध्यक्ष ढकाल

4.82K
shares

काठमाडौं, २२ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बिचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भएकाले विश्वविद्यालयहरू सँगको साझेदारीलाई उच्च महत्त्व दिएको बताएका छन् ।

सोमबार ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसंग साझेदारी गर्न महासङ्घ तयार रहेको बताएका छन् ।

अध्यक्ष ढकालले भने,‘उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन् । त्यस्ता चुनौतीहरूको समाधानका लागी उद्योग वाणिज्य महासंघ र विश्वविद्यालय बिच सहकार्य गर्दा पक्कैपनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुने छ।’

अध्यक्ष ढकालले महासङ्घ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बिच डेढ दर्जन क्षेत्रहरूमा साझेदारी गर्न सकिने पनि उल्लेख गरे। संयुक्त अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यावहारिक अनुभवहरू सहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरूलाई इन्टर्नसिपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यावसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।

यसै गरी महासङ्घ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंक ट्याङ्क भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सकिने,अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनमा पनि सघाउन तयार रहेको अध्यक्ष ढकालेले बताएका छन् । बिजनेस इन्क्यूबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक(निजी(विश्वविद्यालय साझेदारीमा विश्व स्तरीय परीक्षण प्रयोगशालाहरू स्थापना गर्न सक्यौँ भने यसले नेपालको निर्यात बढाउन मद्दत गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रभावकारिता र दक्षता बढाइ नवीन उत्पादन र सेवाहरू दिन सक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गरिएको पनि अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले यी सबै पहलहरूको लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासंघको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।