जहाज चढ्ने यात्रु शंका गर्न थाले
वि.सं.२०८० भदौ २ शनिवार १०:५०
shares

काठमाडौं, १ भदौ । सडकमा गुड्ने गाडी भन्दा आकाशमा उड्ने हवाइजहाजको यात्रा सुरक्षित हुने आशमा महंगो मुल्य तिरेर यात्रा गर्नेहरु अचेल दिक्क हुन थालेका छन् । मौसमका कारण फ्लाइट डिले हुनुका साथै हवाइजहाजमा देखिने प्राविधिक समस्याले हवाइयात्राप्रति यात्रुहरु शसंकित हुन थालेका हुन् ।
हवाई दुर्घटना पनि प्रसस्तै हुने गरेको छ नेपालमा । गत माघमा पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो भने नेपालमा भएको आन्तरिक हवाई दुर्घटना मध्ये यो सबै भन्दा ठूलो दुर्घटना मानिन्छ । नेपालको भौगोलिक अवस्था र मौसम हवाई यात्राका लागि चुनौतिपूर्ण मानिन्छ । यतिसम्म किन पछिल्लो समय जहाजमा समस्या देखिनु गाडीमा पेट्रोल सकिनु जस्तै हुन थालेको छ । हिजोआज हरेक दिन जसो हवाइजहाजमा सानोदेखी ठूलो समस्या देखिन्छ तर, पनि सरोकारवाला निकायकले ध्यान दिएको पाइदैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी जहाजमा प्राविधिक समस्या आउनु सामान्य भएको बताउछन् । गत माघमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि मानिसहरु बढि सेन्सेटिभ भएको धारणा राखे । ‘हिजो आज जहाजको सर्व साधारणले हवाईयात्राका बारेमा बढी नै चासो दिन थालेका छन् । इन्डिकेटरमा सानो समस्या आउँदा पनि गम्भिर ढंगले लिएर ठुलै समस्या आए जस्तो गर्न थालेका छन् ।’ उनले भने,‘जहाजमा पहिला पनि यस्ता समस्या आउँथ्यो तर अहिले जस्तो सबै घटना सार्वजनिक हुन्थेन ।’
नागरिक उड्डयन प्राधिकरणले बढि चासो दिएर हेरेकाले पनि धेरै कुरा बाहिर आएको र त्यहि समाचारका कारण मान्छेमा त्रास बढेको अधिकारीको भनाई छ । पछिल्लो समय हवाईजहाजको संख्या बढेकाले पनि समस्या बढे जस्तो देखिएको उनको भनाई छ । ‘पहिला २/३ वटा मात्रै प्लेन हुँदा समस्या थोरै हुन्थ्यो । अहिले हवाईजहाजको संख्या बढ्यो । समस्या पनि बढ्यो ।’ उनले भने । जहाजमा समस्या विश्वभरनै देखिने गरेको धारणा राख्ने अधिकारी अन्य कतिपय मुलुकले सुचनाहरु सार्वजनिक नगर्ने बताउछन् । ‘हाम्रोमा सबै सुचना सार्वजनिक हुन्छ त्यसकारण पनि धेरै भए जस्तो लागेको हो । खास समस्या बढेको छैन । हवाइजहाजको यात्रा सुरक्षित छ ।’
नेपालमा हवाई दुर्घटना सुरु भएको ६७ वर्ष भएको छ भने यो अवधिमा ९६ वटा दुर्घटनामा ८ सय बढीले ज्यान गुमाईसकेका छन् । नेपालमा सन १९४६ देखी हवाई दुर्घटनाको श्रृङ्खला सुरु भएको थियो ।



















