सिवाईसी विरुद्धको गुनासो सुन्नै मान्दैन राष्ट्र बैंक
वि.सं.२०८० भदौ ५ मंगलवार १०:००
shares

काठमाडौं, ४ भदौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थामा कार्यरत कर्मचारीका लागि छुट्याएको कर्मचारी बोनस वापतको रकम कर्मचारीलाई नदिएपछि कर्मचारी असन्तुष्ट छन् । उक्त संस्थामा कार्यरत एक कर्मचारीले दिएको जानकारी अनुसार संस्थाको विधानमै उल्लेख भएपनि लघुवित्तले कर्मचारी बोनसको सुविधा रोकेको छ ।
सिवाईसी लघुवित्तमा लामो समय काम गरेका एक कर्मचारी आफुहरु श्रम शोषणमा परेको बताउँछन् । उनका अनुसार संस्थाको कार्यविधि र ऐनमा ६ महिना पुगेको सबै कर्मचारीले बोनस पाउने लेखिएको भए पनि संस्थाले आफ्नो कम्पनीमा आवद्ध स्थायी कर्मचारीहरुलाई मात्रै बोनस बाड्फाड गर्ने गरेको छ ।
ति कर्मचारीका अनुसार धेरै शाखाका कर्मचारीले लिखित स्पष्टीकरण माग्दा संस्थाका एमडी संचालक समितिलाई दोष लगाएर पन्छिन खोज्छन् । केटीएम भ्वाइसको सम्पर्कमा आएका ति कर्मचारीले राष्ट्र बैंकले समेत पिडित कर्मचारीको गुनासो नसुनेको बताए । ‘राष्ट्रबैंकलाई गुनासो गर्दा पनि हामी केहि गर्न सक्दैनौं भनेर राष्ट्र बैंकबाट फोन आयो’ उनी भन्छन्,‘यसरी त श्रम शोषण भएन र ?’
सिवाईसी नेपालका कर्मचारीले राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको ध्यानआकर्षण गर्न गत असार ३ गते नै निवेदन पेस गरेका थिए । तर राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपाल भने आफुलाई कुनै पनि पत्र नआएको दावी गरे ‘ मलाई त्यस्तो कुनै पत्र त आएको छैन तर करारमा रहेकाले कर्मचारी बोनस पाउँदैनन् ।’ उनले भने ।
सिवाईसीमा धेरै कर्मचारी करारमै रहेका छन् । सिवाईसी लघुवित्तका अध्यक्ष पद्यमनाथ शर्माले यो वर्ष थोरै मात्र नाफा भएको र बोनस पाउँने कर्मचारीले पनि बोर्डको बैठकपछि मात्रै पाउँने बताए । ‘ कारारका कर्मचारीले त कहाँ बोनस पाउँछन् र ?’ उनी भन्छन्,‘ स्थायी कर्मचारीले पनि अब बोर्डको बैठकपछि मात्रै बोनस पाउँछन् ।’



















