Dhulikhel Eco Banner new

वानेश्वर चोकबाट विस्थापित गल्लीमा लुकेर मकै पोल्छन्

9.2K
shares

काठमाडौं, २२ भदौ । दिउसोको चार बजेको छ । नयाँ वानेश्वरको एउटा गल्लिमा चार पाङ्ग्रे गाढा पिच रोडमाथी अडिएको छ । त्यहि गाडामाथी छ मकै पोल्ने स्ट्याण्ड । भुईमा छ कराई । कराईमाथी मकै अड्याउने फलामे स्ट्याण्ड ।

कराईमा आगोको भुङ्ग्रो बनिसकेको छैन । स–मिलबाट किनेर ल्याएको सुकिला दाउरा कराईमा राख्छन् । एकछिन धुवाँ पुत्पुताउछ अनि आगो बल्छ । ‘ल आगो बल्यो मकै हाल ।’ श्रीमतीलाई अ-हाउछन् । आफु पनि एक हातले स्ट्यानमाथी हरिया मकैका घोगा मिलाएर राख्छन् । दाउरा सल्किँदै जान्छ । आगो ह्वार्र ह्वारी बल्न थाल्छ । एक हातले मकै फर्काउछन् । एकछिन अघिसम्म हरियो देखिएको मकैको खोस्टा कालो हुन्छ ।

एक हातले मकै र खोस्टा छुट्याउछन् र भुङ्ग्रोमा राख्छन् । मकै पड्किन लाग्छ पटटट….। भुङ्ग्रो केही मधुरो हुन्छ । फेरि एक हातले हम्किन्छन् । मुर्झाएको आगोको कोइला ब्युझन्छ । मकैका दाना फेरि पुरानै लयमा पटटट…गर्न लाग्छन् ।

हाम्रो उद्देश्य थियो । एक हात गुमाएर पनि सडकमा मकै पोलेर गुजारा गर्दै आएका संघर्षरत एक व्यक्तिको भिडियो स्टोरी बनाउने ?

हामीले ब्यागबाट क्यामेरा झिक्ने बित्तिकै आत्तिएको भावमा बोले ‘यो किन ?’ क्यामेराको छेल पर्दै भने ‘तपाईहरु भिडियो खिचेर युट्युबमा हाल्न आउनु भएको हो ?’ हामीले क्यामेरा बन्द नगरेसम्म वरिपरि नै नपर्ने कुरा गरे । हामीले क्यामेरा बन्द ग-यौं ।

भिडियो नखिच्ने प्रतिवद्धता जनाएपछि कुरा गर्न राजी भए तर, खुलेर कुरा गरेनन् । पहिला नयाँ वानेश्वर चोकमा सडकपेटीमा तरकारी बेच्ने यी बृद्धलाई महानगर प्रहरीले चोकबाट हटाएको रहेछ ।

केही दिन त त्यतिकै बसे । सँधै बसेर पेट भर्न सम्भव थिएन । तरकारी बेच्ने ठेला गाडा गुडाउदै काठमाडौका विभिन्न गल्ली चहारे । गल्लि भित्र पनि धेरै ठाउँबाट लखेटिए । कसैले के भन्थे, कसैले के ।

अहिले जहाँ छन् । उनले मकै पोलेकै कारण स्थानियलाई कुनै अप्ठयारो परेको छैन तर, वरिपरिका घरवालाले निको मान्दा रहेनछन् । बेला बेलामा भन्दा रहेछन् ‘बालेन बोलाईदिम ।’

उनलाई अहिले दुईटा कुराको डर छ । एउटा स्थानियको अर्को महानगर प्रहरीको । कुराकानीकै क्रममा उनले भने ‘तपाईले मेरो भिडियो खिच्नु भो भने वानेश्वरबाट खेदेको मान्छे अहिले यहाँ मकै पोलेर बसेको रहेछ जा समा भनेर हाकिमले आदेश दिन्छन् । अनि मलाई खोज्दै पुलिस आउछन् ।’

कतिबेला प्रहरी आएर गाडा लाने हो भन्ने पीर त छ नै, मकै किन्नेहरुले बाटोमै खोया र खोस्टा फाल्देलान कि भन्ने डर पनि उत्तिकै छ । भरखरै पोलेको मकैको घोगा खोस्टामा बेरेर दिएपछि ग्राहकलाई भन्छन् ‘खोया खोस्टा बाटोमा चाँही नफाल्नु है ।’

उनलाई यो पनि थाहा छ । अन्तराष्ट्रिय कानुन अनुसार अपाङ्गता भएका व्यक्तिलाई ६० वर्ष पुगेपछि काममा लगाउन पाइदैन । उनलाई त राज्यले गरेर खान्छु भन्दा पनि दिएन । महानगरलाई सुझाब दिँदै भन्छन् ‘हामीलाई यसरी लखेट्नुको साटो थोरै कर लिएर कतै बस्न दिएको भए हाम्ले पनि गरि खाउ पाउथेम्, राज्यले पनि कर पाउथ्यो ।’ फेरि उनैले भने ‘हाम्रा कुरा सुन्ने फुर्सद कसलाई छ र ।

तस्विर : उज्वल पाैडेल