Dhulikhel Eco Banner new

व्यापार कोमामा पुग्यो, सरकारले मर्का बुझेन : नविन लुइटेल

25.56K
shares

काठमाडौं, ९ असोज । तीज सकियो । दशैं आउदै छ । तर, वानेश्वर क्षेत्रमा अझै चाड आउन लागेको झलक देखिएको छैन । विगतका वर्षहरुमा यो याममा पसल अगाडीको कुरा छाडौं सडक पेटीमा समेत ठेल मठेल गर्दै हिँड्थे सर्वसाधारण । यसपाली त्यो भिडभाड दुर्लभ भएको छ । विभिन्न व्यापार व्यवसायमा संलग्नहरु पनि मोबाइल खेलाएर समय कटाइरहेका छन् ।

वानेश्वर व्यापार संघका अध्यक्ष नविन लुइटेल अहिले वानेश्वरलगायत काठमाडौं शहरको व्यापार कोमामा गएको टिप्पणी गर्छन् । ‘अहिले वानेश्वर मात्रै हैन सिंगै काठमाडौंको व्यापार व्यवसाय कोमामा गएको अवस्था छ ।’

कोमामा गएको व्यवसायलाई उठाउने सामथ्र्य व्यवसायीमा नभएको उनको भनाई छ । आगामी दिनमा सरकारले सहि निती लियो भने मात्रै व्यापार ट्रयाकमा आउने बताए ।

के हो त्यो सरकारले लिने सही निती ? लुइटेल भन्छन् ‘सबै भन्दा पहिला अर्थतन्त्र उत्पादनमुखी हुनुपर्छ । उत्पादन गर्छु मात्रै भनेर हुँदैन व्यवहारमा देखिनुपर्छ ।’ नेपालमा सरकारले व्यवसाय गर मात्रै भन्ने तर, वातावरण निर्माणमा अवरोध गर्ने गरेको गुनासो गरे । उनको भनाई अनुसार अहिले सरकार मात्रै जनतासंग कर उठाउन केन्द्रित भएको छ । ‘अहिले हामीले नाफाको ३९ प्रतिशत कर तिर्छौ यस्तो अवस्थामा कसरी प्रतिस्पर्धा गर्न सक्छ नेपाली उत्पादनले ?’ उल्टै प्रश्न गरे ।

सरकारको दीर्घकालिन निती नभएकाले व्यवसायी मारमा परेको उनको भनाई छ । केही महिना अघि मात्रै सरकारले केही वस्तुहरु आयात रोकेको घटना स्मरण गर्दै उनले भने ‘त्यसरी बस्तु आयात रोक्दा राजस्व घटनुको साथै बजारमा सामग्रीको समेत अभाव भयो ।’

भूकम्पको असर अहिले देखिँदैछ

अहिले समस्या देखिनुको कारण यसपालीको मात्रै समस्या होइन भन्ने लाग्छ उनलाई । ०७२ सालमा आएको विनाशकारी भूकम्पदेखी नै व्यापार व्यवसायमा मन्दी आएको कुरा गरे । भूकम्प आयो, त्यही वर्ष भारतले नाकाबन्दी ग¥यो । नाकाबन्दी खुल्ला भएपछि मुलुक तङ्ग्रिदै थियो । कोरोना संक्रमणले गाँज्यो । कोरोना संक्रमणपछि भएको लकडाउनको अवधिमा मान्छेसंग भएको बचत खर्च भएपछि अहिले संकटको स्थिती आएको उनको भनाई छ ‘लकडाउनमा मान्छेसँग भएको अलि अलि बचत पनि सकियो । अहिले त्यसैको असर देखिँदैछ ।’ उनले भने ।

मुलुकमा आर्थिक संकट आइसकेपछि संकटबाट मुक्ति दिनका लागि लचिलो मौद्रिक निती आउनु पर्नेमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

सहकारीलाई बचाउनु पर्छ

साना व्यवसाय गर्नेहरु प्रायले सहकारीसंग कारोबार गर्ने गरेको स्मरण गर्दै लुइटेल भन्छन् ‘अहिले सहकारीको स्थिती नाजुक भएकाले पनि व्यवसायी मारमा परेका छन् ।’ उनको भनाई अनुसार व्यवसायीले दैनिक कमाएको पैसा सहकारीमा बचत गर्थे भने केही मात्रामा लोन पनि लिन्थे । सहकारी आफैं भाग्नु पर्ने स्थिती आएपछि कतिपय व्यवसायीले आफुले बचत गरेको पैसा समेत लिन पाएका छैनन् ।

साना तिना व्यवसाय गर्नेहरुका लागि सहकारी आवश्यक भएको धारणा राख्ने लुइटेल सहकारीको सम्पत्ति हेरेर सरकारले सहकारीलाई सर्ट टर्म लोनको व्यवस्था गरिदिनु पर्ने बताउछन् । ‘सहकारीको सम्पत्ती हेरेर केही महिनाका लागि ९० प्रतिशतसम्म सहकारीलाई लोन दिने हो भने सर्वसाधारणले बचत गरेको पैसा फिर्ता पाउछन् भने कतिपयले लोन पनि लिन सक्छन् ।’ लुइटेलले भने ‘त्यसो गरेमा सहकारी पनि बाँच्छ ।’

पार्किङको असर                                                                                                      काठमाडौं महानगरपालिकाले पार्किङमा कडाई गरेपछि त्यसको असर व्यापारमा पनि परेको बुझेका छन् लुइटेलले । भद्रगोल काठमाडौंलाई व्यवस्थित बनाउने महानगरको अभियानलाई भने नकारात्मक रुपमा नलिन आग्रह गरे उनले । ‘काठमाडौंलाई व्यवस्थित बनाउने महानगरको अभियान राम्रै हो ।’ उनले भने ।

तस्विर : उज्वल पौडेल