Dhulikhel Eco Banner new

अस्वभाविक मूल्यवृद्धि रोक्न सांसदहरूको माग

6.86K
shares

काठमाडौँ, १८ असोज । दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको भन्दै सांसदहरुले प्रभावकारी बजार अनुगमन हुनु पर्ने माग गरेका छन् ।

बिहीबार बैठकको शून्य समयमा बोल्दै सांसदहरुले चाडपर्वमा सर्वसाधारणलाई घरसम्म पुग्न यातायातको सहजताका लागि समेत सरकारको ध्यानार्षण गराए । बैठकमा सांसद ठाकुरप्रसाद गैरेले सदनले पर्याप्त ‘विजनेस’ नपाएको अवस्थामा सञ्चालन भइरहको जनाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद तेजुलाल चौधरीले धार्मिक र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपक गिरीले दाङको घोराहीमा बाटो निर्माणका लागि परेको बजेट अन्यत्र सार्ने षड्यन्त्र भएकामा आपत्ति व्यक्त गरे । सांसद ध्रुवबहादुर प्रधानले तराईको विकासको मेरुदण्डका रुपमा रहेको हुलाकी सडकको दुर्दशा देखिएको भन्दै निर्धारित समय मै सम्पन्न गर्न ध्यानाकर्षण गराए । सांसद नागिना यादवले मिटरब्याजसम्बन्धी विधेयक पारित भएको र सोसम्बन्धी समिति पनि बनेको जनाउँदै पीडितले हालसम्म न्याय नपाएको बताइन् ।

सडक कहालीलाग्दो

सांसद नारायणप्रसाद आचार्यले संविधान जारीपछि तीनै तहका निर्वाचन सम्पन्न भइ सरकारले काम गरिसकेको भएपनि सडकको अवस्था कहालीलाग्दो रहेको बताउँदै चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहज रुपमा घर फर्किने गरी काम गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

सांसद नारायणी शर्माले खुला विश्वविद्यालयले उपयुक्त पद्धति भए पनि कानुनका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा कानुन परिषद्ले सहभागी गर्न नदिएकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद निशा डाँगीले पहिचानका आधारमा नागरिकता लिन शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको जनाउँदै यसमा सहजीकरणका लागि कानुन अड्चन हटाउन माग गर्नुभयो ।
भूकम्प प्रभावितको उद्धार चाँडो होस्

सांसद पुष्पबहादुर शाहले यही असोज १६ गते सुदूरपश्चिममा गएको भूकम्पले बझाङमा ठूलो क्षति भएको उल्लेख गर्दै प्रभावितको उद्धार, राहत र पुनःस्थापनको माग गरे । सांसद प्रतीमा गौतमले काठमाडौँको शङ्करापुरमा माथिल्लो तामाकोशीको प्रसारण लाइन बन्न लागेको सम्बन्धमा स्थानीयले जनाएको असस्तुष्टिप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सिमाका नेपालीले दुःख पाए

सांसद प्रतीक्षा तिवारीले चाडपर्व नजिकिँदै बजारमा महँगी बढेको र सिमानामा घर फर्किने जनताले दुःख पाएको भन्दै अनुगमन र सहजताको माग गरिन् । सांसद प्रदीप पौडेलले मुलुकमा आर्थिक अवस्था दयनीय भएको र त्यहीमाथि बजारमा महँगी बढेको उल्लेख गर्दै मूल्यवद्धि नियन्त्रण र अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद बलराम अधिकारीले स्वदेश विदेशबाट घर फर्किने जनतालाई सिमानामा दुःख दिने काम भएको र सीमा बजारबाट घरायसी समान ल्याउँदा दुःख दिने काम भएको हुँदा यसलाई सहजता प्रदान गर्नुपर्ने माग गरे ।

सांसद वसन्तकुमार नेम्वाङले विगतमा अविरल वर्षाका कारण पाँचथरमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्र्दै चार महिना बित्न लाग्दा पनि राहतको काम नभएको गुनासो गरे । सांसद वासुदेव घिमिरेले लुम्बिनी क्षेत्रमा प्रशासनिक सुविधा लिन स्थानीयलाई कठिनाइ भएको हुँदा इलाका प्रसासन स्थापना गरी सुविधा सहजता गर्नुपर्ने माग गरे ।

सांसद विन्द्यवासिनी कंसाकारले मुलुकमा बर्सेनि हजारौँ सङ्ख्यामा जलनबाट पीडित हुने गरेको उल्लेख गर्दै तत्काल जलन कोष स्थापना गर्न माग गरिन् । सांसद दीपकबहादुर सिंहले कृषिप्रधान मुलुक भए पनि सामान्य किसानका पशुमा अझै ‘लम्पीस्किन’ रोगको प्रभाव रहेको र किसानले दूध उत्पादनको रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।