Dhulikhel Eco Banner new

३ अर्ब बढीको नागरिक बचतपत्र बिक्री खुला

5.42K
shares

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले ३ अर्बभन्दा बढीको नागरिक बचतपत्र बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले १२ गतेदेखि अर्थात बिहीबारदेखि ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुल्ला गरेको हो ।

जो कोही नेपाली नागरिकले आवेदन दिन सक्ने यो नागरिक बचतपत्र ५ वर्षको हुने र यसका लागि १२ जेठ देखि ३१ जेठसम्म खरिद गर्न सकिने जनाइएको छ । नागरिक बचतपत्र २०८४ नाम दिइएको यो बचतपत्रमा बार्षिक रुपमा ११ प्रतिशत ब्याज प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ । उक्त बचतपत्रको ब्याज भुक्तानी भने हरेक ६-६ महिनामा हुने छ ।

यस बचतपत्रमा कम्तिमा १० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन पाइने जनाइएको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ । ५ बर्षे अवधिको बचतपत्र भएपनि यसलाई जुन सुकै बेला पनि बेच्न सकिने राष्ट्र बैंकले जनाएको छ ।