GBIME

हुनेखाने वर्गले लघुवित्तको छवी विगार्न खोजे, प्रसाईंको आन्दोलनले समस्या पार्दैन

3.57K
shares

यतिबेला दुर्गा प्रसाई चर्चाको शिखरमा छन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध उनले गरेका भाषणले उनी चर्चामा आएका हुन् । बैंकको ऋण मिनाहा हुनुपर्छसहितका एजेण्डा उठाएर चर्को भाषण गर्ने गरेका मेडिकल व्यवसायी प्रसाईले आगामी ७ मंसिरमा काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

बैंक तथा वित्तीय संस्थामा काम गर्ने सबैले प्रसाईंको खुलेरै आलोचना गर्ने गरेका छन् । तर, लघुवित्त बैंकर्स संघका पूर्व कार्यबाहक अध्यक्ष मीनबहादुर बोहरा उनले गरेका आन्दोलनले सकारात्मक असर परेको बताउछन् ।

भनिन्छ, हरेक कुराको नकरात्मकसँगै सकारात्मक पनि असर पर्ने गर्छ । बोहरालाई पनि त्यस्तै लागेको छ । उनले केटिएम भ्वाइससँगको कुराकानीमा प्रसाईंको आन्दोलनले गरिवलाई ऋण दिएर उद्यमी बनाउने लघुवित्त संस्थाहरु समेत देशमा धेरै छन् भन्ने बुझाएको उनले बताए । प्रस्तुत छ, केटिएम भ्वाइसका लागि दिक्षा भट्टराईले बोहरासँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईको नजरबाट हेर्दा लघुवित्त वित्तीय संस्थाहरुको अहिलेको अवस्था कस्तो छ ?

लघुवित्त वित्तीय संस्थाहरु भनेका खासगरी विपन्न वर्गका मानिसहरुको साथी हुन् । लघुवित्तहरुले दिनु पर्ने सेवा निरन्तर रुपमै दिइरहेका छन् । केही चुनौतीहरु पक्कै पनि छन् । समग्रमा भन्न पर्दा लघुवित्त क्षेत्रको अवस्था राम्रै छ ।

पहिलो त्रैमासको रिपोर्ट हेर्दा धेरै संस्थाहरुको वाह ’ भन्ने खालको देखिएन । दोस्रो त्रैमासमा लघुवित्तहरुको वित्तीय रिपोर्ट कस्तो आउला ?

तपाईले भने जस्तै पहिलो त्रैमास लघुवित्तका लागि धेरै राम्रो भएन । दोस्रो त्रैमासमा भने सुधार हुन्छ भन्ने अपेक्षा छ । आशा गरौं, पहिलो भन्दा दोस्रो त्रैमास हाम्रा लागि धेरै राम्रो आउनेछ । पहिलो त्रैमास चाडबाडको अगाडि थियो । यतिबेला चाडबाड पनि सकिएको छ । चाडबाडमा केन्द्रीत भएकाहरु पनि आफ्नो पेशा व्यवसायमा केन्द्रीत हुने समय आएको छ । अब पक्कै पनि लघुवित्तको कारोबार पनि यसले बढाउछ । दोस्रो त्रैमास सुखद नै रहन्छ ।

लघुवित्तमा ऋण नतिर्नेको संख्या बढेको थियो कुनैबेला, अहिले रिकभरीको रेट कस्तो छ ?

पहिलेको भन्दा रिकभरीको रेट साइज प्लस भएको छ । पहिलेको भन्दा रिकभरी बढेको छ, तर थोरबहुत चुनौती भने कायमै छ । अझै पनि ऋण नतिरौ भनेर भन्ने गरेको पनि सुनिन्छ । ऋण लिएपछि तिर्नै पर्छ । तर, खै के आधारमा केही बद्मासहरुले ऋण नतिर भनिरहेका छन् ? सडकमा होहल्ला गरेर हुने कुरा होइन । सडकमा होहल्ला गरेर ऋण नतिर भन्नेहरुलाई कति दिन पत्याउने ?

बैंकिङ क्षेत्रका आक्रामक देखिने दुर्गा प्रसाईले काठमाडौंमा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन्, यसले लघुवित्त क्षेत्रमा कस्तो असर पर्ला ?

मेरो विचारमा असाध्यै पोजेटिभ असर पर्छ । नेपालमा चार प्रकारका बैंक तथा वित्तीय संस्थाहरु छन् । तर, यहाँ ठूला बैंकहरुको मात्रै चर्चा हुन्छ । हामी गाउँगाउँमा गएर सेवा दिने भए पनि हाम्रो बारे मासमा धेरैलाई जानकारी थिएन ।

विपन्न वर्गलाई जानकारी भए पनि लघुवित्तका बारेमा हुनेखाने वर्गलाई धेरै जानकारी थिएन । यहाँ त ‘क’ वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीहरु धेरै सुनिन्थे । घ वर्गका लघुवित्तको बारे त चर्चा नै हुदैनथ्यो ।

म त प्रसाई जीलाई धन्यबादद दिन चाहान्छु । उहाँको कारण हाम्रो राम्रै प्रचारप्रसार भएको छ । लघुवित्तको सेवाबारे आम जनमानसमा उजागर भएको छ । उहाँले गरेका यस्ता कार्यक्रमले सकारात्मक पनि असर परिरहेको छ । कुरा यत्ति हो, ऋण खाएपछि भने तिर्नुपर्छ ।

तपाईको विचारमा लघुवित्तका ग्राहकहरु वित्तीय रुपमा कत्तिको सचेत छन् ?

पहिला उहाँहरु सचेत हुनुहुन्थ्यो । तर पछिल्लो समय सचेत नभएको जस्तै देखिएको छ । हाम्रा केही पोलिसीले पनि असर गरेको छ । हाम्रो ऋणको साइज ठूलो भयो । लघुवित्तबाट हुनेखाने वर्गले पनि ऋण लिन थाले । उनीहरुले लघुवित्तको छवी विगार्न खोजेका हुन् ।

जसलाई कर्मसियल बैंक, विकास बैंक, फाइनान्स कम्पनीले पत्याएको छ, उहाँहरु समेत लघुवित्त क्षेत्रमा आइसकेपछि वित्तीय अनुशासन विग्रिएको छ । यस्ता वर्गले लघुवित्तले गरेको सकारात्मक असरलाई ख्याल नगरी नकरात्मक बनाउने काम गर्न थालेका हुन् ।

अहिले समस्या भनेको त्यो वर्गबाट हो । जुन हाम्रो ट्रागेट गु्रप छ त्यँहावाट हामीलाई कुनै समस्या छैन । जुन कर्मसियल बैंकले पत्याएका मान्छे समेत लघुवित्तबाट पैसा लिन थाले, त्यो दिनबाट हामीलाई समस्या आएको हो ।

तपाईको विचारमा वित्तीय चेतना बढाउन कसको तर्फबाट के गर्नुपर्छ ?

वित्तीय चेतना बढाउन पहिलो जिम्मेवारी भनेको नेपाल सरकारको हो, त्यसपछि नेपाल राष्ट्र बैंकको हो । हामी राष्ट्र बैंकको प्रतिनिधि न हौँ । वाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनीहरु र हामी लघुवित्त संस्थाहरु सबै वित्तीय चेतना बढाउनका लागि के गर्नु पर्छ गर्न तयार छौँ । हामीलाई पहिलो सहयोग सरकारको चाहिन्छ ।