दुर्गा प्रसाईं, बस्नेत र सरकार समेत संयमित हुनुपर्छ, नत्र दुर्घटना हुनसक्छ
वि.सं.२०८० मंसिर ६ बुधवार २०:०३
shares

काठमाडौं, ६ मंसिर । कुनै बेला व्यवसायीहरुकाे नेतृत्व गर्दै बैंक तथा वित्तीय संस्थाकाे ब्याजदर विरुद्ध आन्दोलनकाे नेतृत्व गरेका नरेश कटुवालले मंसिर ७ पछि अवस्था भयावह हुन नदिन सबै पक्ष संयमित हुनुपर्ने बताएका छन् । मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्दैछन् । ७ गते नै प्रसाईंका कडा आलाेचक नेकपा एमाले नेता महेश बस्नेतले समेत विराेध प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले ठाउँ ठाउँमा निशेधाज्ञा जाारी गरेको छ ।
७ गते पछि पनि दुर्घटना हुन सक्ने भन्दै कटुवालले यस्तो बेलामा सबै पक्ष संयमित हुनुपर्ने बताए । ‘समस्याहरु धेरै छन्, सबैका आ-आफ्ना एजेन्डा हाेलान्’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष कटुवालले भने, ‘कसैको रिस वा आक्राेशले ८ गते पछाडि कुनै समस्या नहाेस्, सबैलाई संयमित हुन अनुराेध गर्दछु ।’
अहिले पनि बैंक ब्याजदरकाे समस्या यथावत रहेको उनले बताए । व्यवसायिक वातावरण खलवलिएकाे भन्दै कटुवालले सबै पक्षले देशको अर्थतन्त्र उकास्न तर्फ ध्यान दिनुपर्ने समेत बताए । ‘आन्दोलन सबैले गर्न पाउनुपर्छ, गर्नुहाेस् तर सामाजिक सद्भाव र व्यवसायिक वातावरण भने बिग्रनु हुँदैन’ उनले भने ।



















