Dhulikhel Eco Banner new

खुल्यो कित्ताकाट, तर बढ्न सकेन कारोबार !

12.77K
shares

काठमाडौं, ९ मंसिर । देशको अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा घरजग्गा कारोबारको तथ्याङ्कबाट पनि थाहा पाउन सकिन्छ । विश्व आर्थिक मन्दीको असर घरजग्गा व्यवसायीमा पनि परेको छ । सरकारले गत साउनमा कित्ताकाट खुल्ला गरेर घरजग्गा कारोबार गर्न सहज बनाएपनि कारोबार बढ्न सकेको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार कित्ताकाटका कारण कारोबारमा असर परेको भन्दै सरकारले कित्ताकाट फुकुवा गर्दापनि कारोबार बढ्न नसकेको हो । यस वर्ष कात्तिकमा दशैं तथा तिहारजस्ता चाडपर्वका कारण लामो बिदा भएकोले कारोबार घट्न गएको हुनसक्ने विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार कात्तिक महिनामा २६ हजार २६ वटा घरजग्गा मात्रै किनबेच भएको छ । गत असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७९३ वटा घरजग्गा किनबेच भएको थियो भने भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो । उक्त तथ्याङ्क हेर्दा कात्तिक महिनामा कारोबार निकै कम भएको स्पष्ट देखिएको छ ।

साथै, सोही अवधिमा देशभर २२ वटा अपार्टमेन्ट किनबेच भएको छ । विभागको तथ्याङ्कअनुसार कात्तिक महिनामा २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । कारोबार कम हुँदा राजस्वमा पनि असर परेको व्यवसायी बताएका छन् ।

नेपाल घरजग्गा व्यवसायी तथा आवास विकास समितिका अध्यक्ष भेसराज लोहनी कात्तिक महिनामा धेरै बिदा र चाडपर्वहरु परेको कारण कारोबार असोज महिनाको भन्दा आधामा झरेको बताउँछन् । उनले मंसिर लागेपछि कारोबार बढ्ने आशमा आफुहरु रहेको बताए ।

‘जग्गाको कारोबार यो महिनामा घट्नुको मेन कारण भनेको चाडपर्व र विदाहरु धेरै भएर हो ।’ केटीएम भ्वाइससँगको कुराकानीमा उनले भने, ‘मंसिरदेखि कारोबार सामान्य सुधारको बाटोमा अगाडी बढ्छ भन्ने अपेक्षा हामीले गरेका छौं ।’

साउनदेखि कित्ताकाट खुलेपनि असार, साउन र भदौ घरजग्गा कारोबारको अफ सिजन रहेको भन्दै सबैको वर्षहरुमा यो समयमा कारोबार कम हुने उनले बताए । कारोबार बढ्नको लागि नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको पीएमआई तिर्न अलिक टाइट भइरहेको भन्दै लोनको भ्यालु रेसियो ७० प्रतिशत पुर्याइदिनुपर्ने उनको भनाइ छ ।

‘समग्र अर्थतन्त्र नै सुस्त भएको परिस्थितीमा रियल स्टेट व्यवसाय पनि समस्या छन् । व्यवसाय समस्यामा परेपछि व्यवसायीमा निराशाजनक परिस्थीति बनेको हो ।’ उनले भने ।

नेपाल राष्ट्र बैंकले भने घरजग्गा कारोबार बढाउन तत्कालका लागि कुनै पनि कदम नचाल्ने राष्ट्र बैंकका सुचना अधिकारी डा. डिल्लीराम पोखरेलले बताए । उनका अनुसार पहिलदेखि नै घरजग्गा कारोबार गर्दै आएकाहरुले ऋण चुक्ता नगर्दा घरजग्गा कारोबार सुस्त भएको हो ।

उनले बैंकहरुसँग प्रर्याप्त तरलता हुँदापनि घरजग्गा कारोबारमा सुस्त आएको बताए । ‘विगतमा ब्याजदर बढेको र पहिलाका घरहरु बिक्री नभएर समस्या सिर्जना भएको हो ।’ विकास निर्माणको कामहरु भएपछि घरजग्गा कारोबारमा सुधार आउँछ ।’ उनले भने ।